भारतीय राजदूत बढुवा भएर स्वदेश फिर्ता
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा स्वदेश फर्केका छन् । राजदूत क्वात्रा आज दिउँसो साढे २ बजे नेपाल वायुसेवा निगमको उडानबाट नयाँ दिल्ली गएका हुन् । आगामी १८ गतेदेखि विदेश मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्न क्वात्रा स्वदेश फर्केका हुन् ।
भारतीय मन्त्रिमण्डलको बैठकले उनलाई दुई साताअघि राजदूतबाट विदेश सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । यसअघि नेपालका लागि पूर्वराजदूत श्यामशरण पनि विदेश सचिवमा बढुवा भएका थिए । क्वात्राले विदेश सचिवमा बढुवा भएपछि प्रायः सबै प्रमुख दलका शीर्ष नेता र प्रधानमन्त्रीसँग बिदाइ भेट गरेका छन् ।
गत साता उनले दूतावासमा बिदाई भोजको आयोजना गरेका थिए । भोजमा प्रधानमन्त्री शेरबहादुर देउवासहित अधिकांश पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, मन्त्री,पूर्वमन्त्री, सचिवहरु,पत्रकार र कतिपय विशेष सम्बन्धका महानुभावको उपस्थिति थियो ।
टिप्पणीहरू