विप्लवका नेताहरुले प्रचण्डलाई कोटेश्वरमा भेटे
चुनाव उपयोग कि बहिष्कार भन्ने विवादले पार्टीमा अन्तरसंघर्ष चर्किएका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले प्रमुख राजनीतिक दलका नेताहरुसंगको भेटवार्तालाई तीब्र बनाएका छन् ।
महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले दिन बिराएर प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट गरिरहेका बेला आज सचिवालय सदस्यद्वय धर्मेन्द्र बाँस्तोला कन्चन र हेमन्तप्रकाश वली सुदर्शनले सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षहरुसँग सामूहिक भेट गरेका हुन् ।
कोटेश्वरस्थित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा भएको भेटमा नेपालसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि सहभागिता थियो । भेटवार्तामा विप्लव समूहका नेताहरुले सरकारसँगको तीन बुँदे सहमति कार्यान्वयनका लागि प्रचण्ड र नेपालको ध्यानाकर्षण गराएको बुझिएको छ ।
पछिल्लो समय विप्लव समूहमा चुनाव उपयोगबारे कपिलवस्तु बैठकको निर्णय कार्यान्वयनलाई लिएर चर्को विवाद छ । हालै कपिलवस्तुमा सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले चुनावमा सक्रिय बहिष्कार नगर्ने नीति लिएको थियो । पार्टीका तर्फबाट उम्मेदवार खडा नगर्ने तर,आफ्नो प्रभाव क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने बैठकले निर्णय गरेको थियो । त्यस्तै, एमसीसीविरोधी शक्तिलाई चुनावमा सहयोग गर्ने बैठकको अर्को निर्णय थियो ।
संस्थापन (विप्लव-प्रकाण्ड) पक्ष चुनावमा जाने र एमाले या अरु दलसँग ठाउँअनुसार तालमेल गर्ने पक्षमा खुलेरै लाग्दा इतर खेमाका नेताहरु भने चुनाव उपयोग गर्ने नै भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादीसँग मिल्नुपर्ने लाइनमा छन् । यसअघि प्रवक्ता प्रकाण्डले एमाले अध्यक्ष केपी ओलीसंग गोप्य भेटवार्ता गरेको चर्चा पनि थियो ।
चुनावी तालमेलको विषयलाई लिएर विप्लव समूहमा विवाद चर्केका बेला असन्तुष्ट समूहका शीर्ष दुई नेताले प्रचण्ड र नेपालसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । दुवै नेताले अस्ति नै पनि खुमलटार पुगेर प्रचण्डसँग लामो भलाकुसारी गरेका थिए ।
टिप्पणीहरू