९० प्रतिशत नागरिकले पूर्ण खोप पाएको दाबी

९० प्रतिशत नागरिकले पूर्ण खोप पाएको दाबी

९० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको सरकारले दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको जानकारी दिए ।

गत चैत मसान्तसम्म १८ वर्षमाथिका सबैलाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको उनको भनाइ छ । सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशत खोपको पहिलो मात्रा लगाइसकेको पनि बताए ।

’हाम्रो खोप अभियान हेर्ने हो भने चैत मसान्तभित्र १८ वर्षमाथिका सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने भनेर लक्ष्य राखेका थियौँ, उनले भने, ’लक्ष्य राखेअनुसार सरकारले ९४/९५ प्रतिशत खोप लगाइसकेको छ ।’

डा. अधिकारीले आगामी दिनमा पनि कोरोनाविरुद्धको खोप अभियान जारी रहने स्पष्ट पारेका छन् । खोपको दायरामा नआएका नागरिकलाई खोपको दायरामा ल्याइ खोप अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको उनको दाबी छ ।

सरकारले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु गरेको थियो ।

टिप्पणीहरू