गोकुल बाँस्कोटाको चुनौती : ७० करोड होइन अर्ब हान्देको हो, के फरक पर्छ !
सेक्युरिटी प्रिण्टिङ प्रेस खरिदमा ‘कमिसन डिलिङ’ को अडियो सार्वजनिक भएपछि एमाले नेता तथा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्री पद नै गुमाउनु परेको थियो । त्यतिबेलाको अडियोमा केही अश्लिल शब्दसमेत बोलेका बाँस्कोटाले आफूलाई कति कमिशन आउँछ भनेर ठेकेदारसँग बार्गेनिङ्ग गरेका थिए ।
एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्रसमेत रहेका बाँस्कोटाले उक्त अडियो काण्डपछि चौतर्फी आलोचना खेप्दै आएका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय बाँस्कोटा खासगरी सञ्जाल प्रयोगकर्ताबाट बढी आलोचित हुनुपरेको छ । भ्रष्टाचारको आरोप लागे पनि पुष्टि भइसकेको छैन, तर धेरैले बाँस्कोटाको नामै ‘७० करोड’ राखिदिएका छन् ।
दुई वर्ष अघिको सो अडियो प्रकरणले चौतर्फी बदनामी कमाएका उनै बाँस्कोटाले ’७० करोड हैन, अर्ब–अर्ब हान्दिएको हो, के फरक पर्छ’ भनेर निर्धक्कसँग सार्वजनिक मञ्चबाट बोलेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । गोकुल कुमार नाम गरेको फेसबुक पेजमा अपलोड गरिएको उक्त भिडियो २२ हजार बढीले हेरिसकेका छन् ।
हुलाक सञ्चारको लोगो रहेको भिडियोमा पूर्वमन्त्री बाँस्कोटाले भनेका छन्, ‘तपाईंहरु सुन्नुहुन्छ ७० करोड, ७० करोड मात्र होइन्, ७० अर्ब हान्दिएको हो के फरक पर्छ हाम्लाई परियोजनाको लागि । व्यक्तिगत हो ? निजी खाइदिएको छ ? निजी खाइदिएको भए यिनको परमादेशी, यिनको अदालत जम्मै भएको बेलामा बाटोमा हिँड्न नदिएर समातेर कुटेर, घोचेर कोर्रा हानेर छोड्थे ।’ उनले त्यसोभन्दा हलबाट समर्थनमा हुटिङ्गसमेत भएको भिडियोमा सुन्न सकिन्छ ।
सार्वजनिक भएको छोटो भिडियो क्लिपमा बाँस्कोटा कहिले र कहाँको कार्यक्रममा बोलेका हुन भन्नेबारे भने खुलाइएको छैन ।
https://www.facebook.com/santosh.singh.Thakuri60708090/videos/5185179754837513
टिप्पणीहरू