भक्तपुरमा हात नभएको लिंगो ढालियो

भक्तपुरमा हात नभएको लिंगो ढालियो

भक्तपुरको बिस्का जात्राको क्रममा आज हात नभएको ल्योसिंद्य (लिंगो) ढालिएको छ ।

प्रत्येक वर्ष पोटरी स्क्वायरमा जात्राको पहिलो दिन (चैत २७ गते) बिहान उठाइने ल्योसिंद्य जात्राको अन्तिम दिन आज दिउँसो ढाल्ने परम्परा छ । स्थानीय टोलवासीहरू मिलेर ल्योसिंद्य ढालिएको हो । हात नभएको र तुलनात्मक रुपमा सानो हुने हुँदा यो ल्योसिंद्य ढाल्दा खतरा कम हुन्छ । बिस्का जात्राकै क्रममा भक्तपुरकै ल्योसिंद्य उठाउँंदा र ढाल्दा भने जोखिम हुने गरेको छ ।

५५ हात लामो तथा हात भएका कारण उक्त ल्योसिंद्य उठाउन र ढाल्न खतरा हुने भएको हो । यही कारण ल्योसिंद्य उठाउँदा र ढाल्दा जात्रा आसपास पाँंच सात वटा एम्बुलेन्सहरू तयारी अवस्थामा राख्ने गरिन्छ ।

भक्तपुरको बिस्का जात्रा आठ रात नौ दिन चल्ने गर्दछ । भैरव र भद्रकालीको रथ तान्नु, ल्योसिंद्य उठाउनु र ढाल्नु, जिब्रो छेड्ने जात्रा, सिन्दूर जात्रा यहाँको जात्राका मुख्य आकर्षणहरू हुन् । यी बाहेक पनि यहाँ योबीचमा धेरै स–साना जात्राहरू हुने गर्छन् ।

टिप्पणीहरू