एमालेका मझौला नेताहरूको यस्तो छ पीर
एमालेको बौद्धिक पंक्ति, अर्थात् पेशागत फाँटका नेताहरू भन्दैछन्, ‘राजनीतिमा जित्नु र हार्नु उति ठूलो कुरा होइन । तर, किन जितियो वा कसरी हारियो भन्ने कुराको समीक्षा नगरी अगाडि बढ्दा राजनीतिक उद्देश्यले गन्तव्य पक्डिँदैन ।’
भन्नेले त राम्रै कुरा भनेका छन्, तर सुन्नेले त्यसो भन्नेलाई ‘शैतान’ करार गर्लान् भन्ने ठूलो पीर छ । पार्टीभित्र ‘भक्तिभाव’ बाहेक अरु विषयहरू उठे पनि अभिलेखित नहुने, चासोको विषय नबनाइने अचम्मको रोगले गाँजेको एमाले आसन्न स्थानीय चुनावमा कुन स्थितिमा पुग्ला ? यसै भन्न सकिने अवस्था छैन ।
स्थिति के छ भने, एकातिर जहाँसुकैका कार्यक्रममा एउटै कम्पनीको हेलिकोप्टर चार्टर गरेर केपी ओली एक्लै जाने, भाषण गर्ने । अर्कातिर, माधव नेपाल पनि नयाँ पार्टी बनाउन भन्दै एक्लै दौडिने ! माधव नेपालको पार्टीमा उहाँपछिको जनाकर्षण भएका नेताहरू कम हुँदा त्यो हालत भएको स्पष्टै छ । तर, एमालेसँग एकसे एक नेता, वक्ता नभएका हैनन् ।
तर, ‘ओलीपथ’ को बयान गर्दा कुरा चिप्लिने पो हो कि भन्ने डरले अरु नेतालाई त्यति धेरै अगाडि सार्ने गरिँदैन । फलतः राष्ट्रियसभा निर्वाचनबाट शुरु भएको पराजयको श्रृंखला पत्रकार, इञ्जिनियर हुँदै नेपाल बारसम्म झाँगिएको छ । यी सबै चुनावमा ओलीविरोधी पाँचदलीय गठबन्धनको राम्रै उपस्थिति देखिन्छ ।
तर, यो अवस्था किन आयो ? यसलाई कसरी चिर्ने ? वा, फुटेको पार्टी मिलाउने केही उपाय पो हुन्छ कि ? यस्ता कुरामा केन्द्रित हुने फुर्सद न ओलीमा, न त उहाँका भित्रियाहरू– कसैमा छैन ।
अर्थात्, आफ्नो कमजोरी महसूस नगर्ने, फलानोले पार्टी फुटायो भनेर मात्रै पुग्दैन भन्ने एकजना पोलिटब्युरो सदस्यको भनाइ छ । उक्त गठबन्धन हुँदा काँग्रेसीहरू अरुलाई भोट हाल्न आउँदैनन् र हामीलाई जित्न सजिलो हुन्छ भन्ने निश्कर्ष निकालेर एमाले ढुक्क छ ।
बरु, एमालेभित्र विष्णु पौडेलको एउटा र शंकर पोखरेलको अर्को गरी नयाँ गुटहरूको विकास हुँदैछ । अहिल्यैदेखि ओलीपक्षीय नेता–कार्यकर्तामा शंकरको कि विष्णुको भन्ने साउती चल्न थालिसक्यो । तर, यति हुँदा पनि केपी ओलीपछिको नेता को हो ? भन्ने कुराको टुंगो लागेको छैन । ओलीको पार्टीमा मात्रै हैन, माधव नेपालको पार्टीमा पनि त्यही हालत छ । ओली नेतृत्वको एमालेसँग बनाउँदा हुने नेता थुप्रै छन् ।
तर, उनीहरू ओलीको विश्वासमा परेका छैनन् । पदले ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । विश्वासचाहिँ विष्णु रिमाल, शंकर पोखरेलहरूको बढी छ । ओली हुन्जेल केन्द्रमा विष्णु–शंकर, झापा गए अग्नि–दीपक कार्की, काठमाडौं छिरे गोकुल–महेशलाई जुधाएर चलेकै छ । तर, यीमध्ये ओलीको विरासतलाई सर्वसम्मत रूपमा ग्रहण गर्ने क्षमता र हैसियत कसैले बनाएका छैनन् ।
एमालेको बुद्धिजीवी फाँटका नेताहरू भन्दै छन्, ‘समयमै समीक्षा गरौँ ।’ उनीहरूको भनाइ हो, ‘एमाले ठूलो हुँदाहुँदै पनि किन राम्रा मान्छेहरू समाजवादीतिर गए ?’ उदाहरणका लागि प्रेमल खनाल झलनाथका भाइ, सरोज उपाध्याय माधवका भाइ हुनाले गए भन्न सकिएला । तर, विश्वनाथ प्याकुरेल, सीताराम नेपालहरू किन गए ? विश्वनाथ कसैका नातेदार हैनन् । कृष्णमान श्रेष्ठ, प्रमोद शर्मा, सूर्य भाटहरू पनि कसैका नातेदार हैनन् ।
गौरा प्रसाईंको के स्वार्थ थियो र समाजवादीमा गइन् ? ललितपुरका माधव पौडेलले पाउनु के छ र एमाले छोड्नुपरेको हो ? बुद्धिजीवी नेताहरू भन्दैछन्, ‘यस्ता विषयहरूको निरूपण गर्दै जाँदा हामी कहाँ सही र कहाँ गलत छौँ भन्ने खुट्टिन्छ, जहाँ–जहाँ गलत सावित हुन्छौँ, त्यहाँ–त्यहाँ सुधारेर जान सकिन्छ ।’
फेरि विभाजनले पेशागत फाँटमा कति धाँजा फाटेको छ भने, लैनचौरस्थित एनसेल टावरपछाडि पेशागत महासंघको भवन एकीकृत समाजवादीको हातमा परेको छ भने सिंहदरबारको आडैमा रहेको निजामती कर्मचारी संगठनको भवन एमालेको हातमा । भवनहरू नै आधा–आधा भएको अवस्थामा एमालेका निम्ति पार्टी सदस्य र जनमत कति सुरक्षित छन् भन्ने हिसाब निकाल्नुपर्ने समय हो । तर, त्यतातिर नेतृत्वको ध्यान छैन भनिँदैछ ।
टिप्पणीहरू