मोहन वैद्यका नेताहरु प्रचण्डतिर मिसिए

मोहन वैद्यका नेताहरु प्रचण्डतिर मिसिए

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा दिनदिनै पार्टी फेर्नेहरुको लर्को लागिरहेका बेला चुनाव बहिष्कार गर्ने निर्णय गरेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको एउटा समूह माओवादी केन्द्रमा समाहित भएको छ । वैद्यबाट विद्रोह गरेका नागेन्द्र राई समूह आज प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा मिसिएको हो ।

त्यस्तै, नेपाल लोकतान्त्रिक जनता काँग्रेस पार्टी पनि माओवादी केन्द्रमा समाहित भएको छ । माओवादी केन्द्रसँग एकताका लागि गठित वार्ता समितिले आज संयुक्त विज्ञप्ति जारी गर्दै राई समूह र नेपाल लोकतान्त्रिक जनता कांग्रेस माओवादी केन्द्रमा समाहित भएको जानकारी गराएको हो ।

‘आज मिति २०७९ साल वैशाख ५ गतेका दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वार्ता समिति र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बाट विद्रोह गरी आउनु भएका कमरेड नागेन्द्र राई समूह, नेपाल लोकतान्त्रिक जनता काँग्रेस पार्टीबीच पटक पटक छलफल र बहस पश्चात हामी सबै पक्ष निम्नअनुसारको सहमति गर्दै आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समायोजन भएको घोषणा गर्दछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ’साथै नेपालको एक मात्र क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा ध्रुवीकरण भएको घोषणा गर्दैछौं ।’

वैद्यसँग विद्रोह गरेर आएका राईले माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् भने कृष्ण गुरुङ, तिलबहादुर पुन र कुमार बोगटीलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिने भनिएको छ । बाँकीलाई स्थानीय निर्वाचनपछि आपसी छलफल र सहमतिको आधारमा जिम्मेवारी दिने निर्णय वार्ता समितिले गरेको छ ।

त्यस्तै, लोकतान्त्रिक जनता काँग्रेसका जीतबहादुर चौधरी र जिमी लामालाई माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्य र सो पार्टीका अन्य नेता–कार्यकर्तालाई पनि चुनावपछि जिम्मेवारी दिने भनिएको छ ।

टिप्पणीहरू