झ्यालखानमा बस्नेहरुले भोट हाल्न नपाउने

झ्यालखानमा बस्नेहरुले भोट हाल्न नपाउने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरका करिब २५ हजार कैदीबन्दीले मतदान गर्न नपाउने भएका छन् । कैदीबन्दीलाई मताधिकार कानुनले नदिएकाले उनीहरु भोट हाल्नबाट बञ्चित हुनुपरेको हो ।

हाल देशभर २५ हजार ७२ जना कैदीबन्दी छन् । तीमध्ये एक हजार तीन सय ८४ जना विदेशी छन् । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीका अनुसार अहिले देशका विभिन्न जेलमा १३ हजार सात सय ३१ पुरुष र सात सय ८० जना महिला कैदी छन् ।

त्यस्तै, नौ हजार नौ सय ६९ पुरुष र पाँच सय ९२ जना महिला बन्दीहरु रहेको उनले जानकारी दिए । देशका आठ वटा बालसुधार गृहमा पाँच सय तीन जना कैदी र पाँच सय २५ जना बन्दी छन् ।

तर उनीहरुलाई चुनावमा मतदान गर्ने अधिकार भने दिइएको छैन । विभागका सूचना अधिकारी सिवाकोटीले कैदीबन्दीहरुले मतदानमा भाग लिन नपाउने प्रष्ट पारे । ‘कैदीबन्दीलाई मतदानमा सहभागी गराएको मैले अहिलेसम्म थाहा पाएको छैन । यसपटकको निर्वाचनमा पनि उनीहरुले मतदान गर्न पाउने छैनन् । यसकारण उनीहरुको मतदाता परिचयपत्र समेत बनाइएको छैन,’ उनले भने ।

टिप्पणीहरू