राम्रो बनाउन खोज्दा बाँसगढी नगरपालिका चिप्लियो
अशुद्ध प्रश्नपत्र बनाइएकोमा बाँसगढी नगरपालिकाले माफी मागेको छ । कक्षा ५ को पालिकास्तरीय आधारभूत परीक्षा २०७८ सञ्चालन गर्ने क्रममा सामाजिक तथा रचनात्मक कला विषयको प्रश्नपत्रमा अत्यधिक त्रुटी भएको भन्दै नगरपालिकाले माफी मागेको हो ।
प्रश्नपत्रमा भेटिएको अङ्ग्रेजी रुपान्तरणमा भएको त्रुटी सामाजिक सञ्जालमा छ्यायछ्याप्ती भएपछि आलोचना खेपेको नगरपालिकाले विज्ञप्ति जारी गर्दै अब यस्तो नहुने प्रतिबद्धता जनाएको छ । अंग्रेजीमा अनुवाद गरिएका अधिकांश प्रश्नहरु गलत देखिन्छन् ।
नेपालको पहिलो महिला राष्ट्रपतिको नाम सोधिएको प्रश्नमा ‘हु इज दि’ हुनुपर्नेमा ‘ह्वाट इज दि’ लेखिएको छ । त्यस्तै, हामी सँधै सफा हुनुपर्छ, तपाईं कुन समुदायमा बस्नुहुन्छ ? लगायतका प्रश्नहरुको अंग्रेजी अनुवाद पनि गलत छ । प्रश्नपत्रमा कुल ११ स्थानमा गल्ती अनुवाद गरिएको छ ।
त्रुटीपूर्ण प्रश्नपत्र बाहिरिएपछि ‘सरकारी आरक्षण कोटामा नियुक्त भएपछि यस्तै हो’ भन्ने प्रतिक्रिया सर्वसाधारणले दिएका छन् । उक्त प्रश्नपत्रमा देखिएको गल्तीले विद्यार्थीको शैक्षिकस्तरमा कस्तो प्रभाव पार्ला भन्ने खालका प्रतिक्रिया पनि सामाजिक सञ्जालमा सर्वसाधरणले राखेको पाइन्छ ।
यस विषयमा नगरपालिकाले भने आफ्नो बचाउ गर्दै चिन्ता प्रकट गरेको छ । हिजो जारी विज्ञप्तिमा शिक्षा जस्तो संवेदनशील विषयमा भएको असान्दर्भिक त्रुटीको जिम्मेवार निकायले जवाफ दिनुपर्ने बताउँदै आपूmहरुले दायित्वबोध गरेको पनि खुलाइएको छ । विद्यार्थीको स्तर मापन गर्न लिइएको परीक्षा शैक्षिक सुधार योजना निर्माण गर्न सञ्चालन गरिएको नगरपालिकाका शिक्षा अधिकृत छत्रबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू