विप्लवनिकट पत्रकारमाथि विप्लवकै विद्यार्थी नेतृहरुले दले मोसो
नेकपा विप्लव निकट पत्रकार संगठन जनपत्रकार र मुखपत्र रातो खबरसँग आवद्ध नकुल चौंलागाईंमाथि विप्लव निकट महिला विद्यार्थी नेतृहरुले यौन दुर्व्यवहारको आरोपमा मोसो दलेका छन् ।
महासचिव विप्लव र सचिवालय सदस्य सुदर्शनबीच विवाद चर्किएपछि कार्यकर्ताहरु नै आरोप प्रत्यारोप र झडपमा उत्रन थालेका हुन् । बागबजारमा हेमन्तप्रकाश ओली पक्षका युवा नकुल चौलागाईंमाथि महासचिव विप्लव निकट महिला विद्यार्थी नेतृहरुले मासो दलेका हुन् । उनीहरुले बागबजारमा उत्तर कोरियासम्बन्धी गोष्ठीमा सहभागी हुन आएका काभ्रेका नकुल चौलागाईंलाई मोसो दलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
चौलागाईं नेता सुदर्शन र बास्तोलाका पक्षमा खुलेर सामाजिक सञ्जालमा सक्रिय हुँदै आएका थिए । सामाजिक सञ्जालमा राजनीतिक पूर्वाग्रहकै आधारमा नकुल चौलागाईंलाई मोसो दलेकोमा चर्को विरोध भएको छ । स्थानीय चुनाव उपयोगसम्बन्धी अलमलको नीतिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा अन्तरविरोध चर्किएको छ ।
अन्तरविरोध चर्किंदै जाँदा समानान्तर गतिविधि हुन थालेपछि सुदर्शन पक्षका नेता कार्यकर्तामाथि कारवाही मात्रै होइन भौतिक आक्रमणमै उत्रिन थालेका हुन् । विप्लव नेकपाको हालै सम्पन्न कपिलवस्तु बैठकले चुनाव उपयोग गर्ने नीति लिएको थियो । जसमा पार्टी चुनावमा सहभागी नहुने तर कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार उठाउने र राष्ट्रवादी उम्मेदवारलाई सघाउने निर्णय गरिएको छ ।
तर,महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्ष चुनाव उपयोगको तयारीमा जुटेपछि असन्तुष्ट समूहबाट विरोध चर्किएको हो । चुनावमा जाने संस्थापन पक्षको तयारीलाई सचिवालय सदस्यद्वय धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुदर्शनले चुनौती दिन थालेपछि विभिन्न जिल्लामा समानान्तर गतिविधि शुरु भएको छ ।
वली र बास्तोला पक्षधर जिल्ला नेताहरु संस्थापनविरुध्द समानान्तर गतिविधिमा लागेपछि विप्लवले कारबाही गर्न थालेका हुन् । यता विप्लवले कास्की जिल्ला कमिटीले गोकुल पराजुली,बद्री अधिकारी र रमेश बास्तोलालाई पार्टीबाट निश्कासन गरेको छ । पार्टीको निर्णय र नीतिविरुध्द भ्रम सिर्जना गर्दै समानान्तर गतिविधि गरेको,अन्तरध्वंशको षड्यन्त्र गरेको, पार्टी नीतिलाई सही ढंगले कार्यान्वयन नगरेको, सामाजिक सञ्जालको प्रयोग गरी क्रान्तिविरोधी शक्तिलाई मलजल गरेको आरोपमा उनीहरुमाथि कारवाही गरिएको बताइएको छ ।
पार्टीबाट निकालिएका कास्की जिल्ला विशेष कमिटी सदस्यहरु गोकुल पराजुली,बद्रि अधिकारी र रमेश बाँस्तोला हुन् । उनीहरु तीनै जना चुनाव बहिष्कार गर्नुपर्ने पक्षधर वली र बाँस्तोला निकट हुन् ।
टिप्पणीहरू