भक्तपुरमा समाजवादीलाई ‘एमालेकै भर’

भक्तपुरमा समाजवादीलाई ‘एमालेकै भर’

पहिलोचोटी चुनावमा होमिन लागेको नेकपा एकीकृत समाजवादीले भक्तपुरमा आज उम्मेदवारी घोषणा गर्ने भएको छ । सत्ता गठबन्धनको मुख्य दल समाजवादीले अहिले तीन बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेकाे हाे ।

जिल्लामा प्रमुख पार्टीहरुले भने अहिलेसम्म उम्मेद्वारी घोषणा गरेका छैनन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले उम्मेदार हुन चाहनेका सूची संकलन गरी केन्द्रमा पठाएकाे छ । जिल्लामा प्रभुत्व जमाएको नेपाल मजदुर किसान पार्टीले भने अरूले उम्मेदवार तोकेपछि मात्रै अन्तिममा उम्मेदवारी घोषणा गर्ने जनाएकाे छ ।

तर, एमालेबाट बिद्रोह गरेको र सत्ता गठबन्धनको मुख्य घटक समाजवादीले भने सबैभन्दा पहिले आफ्ना उम्मेदवार सार्वजनिक गर्न लागेको हो ।

भक्तपुरमा चार स्थानीय तह छन् । जसमध्ये ७४ सालको चुनावमा तीन वटामा एमाले र एउटामा नेमकिपाले नेतृत्व पाएको थियो । चाँगुनारायण नगरपालिकामा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो । तत्कालीन एमालेमा माधव समूहका सोमपसाद मिश्रले आठ हजार पाँच सय १२ मतसहित मेयर जित्दा कांग्रेसका रामराजा खड्काले ६ हजार ८६९ मत पाएका थिए । चाँगुनारायणमा राप्रपा र नेमकिपाका उम्मेदवारले क्रमसः ५ हजार १९८ र ४ हजार ४४२ मत पाएका थिए ।

नेमकिपाको एकछत्र प्रभाव रहेको भक्तपुर नगरपालिकामा सो पार्टीका उम्मेदवार सुनिल प्रजापतिले मेयर जितेका थिए । उनले २५ हजार ७३० भोट पाउँदा दोस्रो स्थानको काँग्रेसका उम्मेदवारले ६ हजार ५६० र तेस्रो रहेको एमाले उम्मेदवारले जम्मा ४ हजार २१८ भोट ल्याएका थिए।

त्यस्तै, सूर्यविनायकमा एमालेका मेयर बासुदेव थापा १२ हजार एक सय ३५ मत ल्याए मेयरमा विजयी भएका थिए । निकटम प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १६५ मत पाएका थिए यहाँ नेमकिपा, राप्रपा र माओवादी केन्द्र निकै पछाडि देखिएका छन् । मध्यपुर थिमिमा पनि एमालेका मेयर मदनसुन्दर श्रेष्ठले मेयर जितेका थिए । उनले १४ हजार मत पाउँदा कांग्रेसका अष्ट कुमार कवे १० हजार ८६४ मतसहित निकतम प्रतिष्पर्धी भएका थिए ।

मध्यपुरमा एमालेले त्यो बेला नेपाल मजदुर किसान पार्टीसँग मिलेर चुनाव लडेका कारण उपमेयरमा नेपाल मजदुर किसान पार्टीको भागमा परेको थियो । तर, उपमेयर भने कांग्रेसले जितेको थियो ।

एमालेबाट नै फुटेर बनेको समाजवादीले अहिले त्यही एमालेको भोट काटने अनुमान गरिएको छ । समाजवादी एक्लै चुनाव लड्दा जित्न सक्ने आधार बनिनसकेको भए पनि एमाले हराउन भने उसको मत पर्याप्त हुने स्थानीयहरु बताउछन् । सत्ता गठबन्धनबीच सिट भागबण्डा मिलेको अवस्थामा एमालेकै मत चोरेर गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिने समाजवादीका नेताहरुको दाबी छ ।

टिप्पणीहरू