गर्मीमा अघोषित लोडसेडिङ, छट्पटाउँदै नागरिक

गर्मीमा अघोषित लोडसेडिङ, छट्पटाउँदै नागरिक

कैलालीमा अत्यधिक गर्मी बढेका बेला विद्युत प्राधिकरणको गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत कटौतीको समय पनि बढ्न थालेको छ ।

विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीयको आरोप छ । धनगढी ५ का ईश्वर जोशीले ४२ डिग्रीसम्म तापक्रम पुग्न लागेको समय पारेर प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको दुःखेसो गरे ।

उनी भन्छन्, ‘तराईमा ४२ डिग्रीसम्म तापक्रम पुग्न थालेको छ । यही बेला विद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको छ । अत्यधिक गर्मीमा लोडसेडिङ हुन थालेपछि नागरिक मारमा परेका छन् ।’

तर, विद्युत प्राधिकरणले लोडसेडिङ नगरेको दाबी गरेको छ । प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले कैलालीमा नियमित विद्युत आपूर्ति भइरहेको भन्दै कुनै समस्या नरहेको बताए । प्राधिकरणको दाबीलाई त्यहाँका स्थानीय भने अस्वीकार गर्छन् ।

‘कैलालीभरि नै दैनिकजसो अघोषित रूपमा हुने लोडसेडिङ भइरहेको छ,’ गोदावरी नगरपालिका–२ का लालबहादुर सुनारले भने, ‘नियमित विद्युत सुचारु नभएको १५–२० दिन भइसक्यो ।’ उनका अनुसार आधा घण्टा बत्ती आउने र १५–२० मिनेट विद्युत कटौती हुने गरेको छ । ‘यो विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ नै हो, जनतालाई त्यसको सूचना लुकाइएको छ,’ उनले भने ।

प्राधिकरणले विभिन्न बहाना बनाएर विद्युत कटौती गर्दा गृहिणी, विद्यार्थी, उद्योगी, व्यापारीहरूले समस्या झेल्नु परेको छ भने विद्युत नभएपछि पंखा, एसी, कुलरलगायतका उपकरण चलाउन नपाउँदा चर्को गर्मी कटाउन मुश्किल परिरहेको छ ।

प्राधिकरण वितरण केन्द्र धनगढीका प्रमुख मण्डल भने विद्युत नियमित सुचारु भएको र कुनै लोडसेडिङ नरहेको बताउँछन् । ‘ठाउँ ठाउँमा सडक निर्माण भइरहेका कारण लाइनविच्छेद गर्नु पर्ने अवस्था आइरहेको छ,’ उनले भने, ‘कतै फ्यूज जाने हुँदा मर्मत गर्नु पर्दछ, त्यसबेला बिजुली गएको हुन सक्दछ, तर लोडसेडिङ भने छैन ।’

उनले कहिलेकाहिँ चमेलिया विद्युत आयोजनाबाटै बिजुली कटौती हुने गरेको भन्दै त्यस्तो अवस्थामा भने केही समस्या हुने गरेको बताए । तर, चमेलियामा पनि मर्मतका लागि मात्र विद्युत अवरुद्ध हुने गरेको वितरण केन्द्र प्रमुख मण्डलले जानकारी दिए ।

टिप्पणीहरू