राप्रपाद्वारा सुत्केरीलाई ३ हजार, विद्यार्थीलाई छात्रवृत्तिको घोषणा

राप्रपाद्वारा सुत्केरीलाई ३ हजार, विद्यार्थीलाई छात्रवृत्तिको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीले निम्न आय भएका हरेक सुत्केरीलाई तीन हजार रुपैयाँ मासिक भत्ता दिने घोषणा गरेको छ । आज पार्टीले स्थानीय चुनावलाई लक्षित गर्दै आफ्नो घोषणापत्रमार्फत् सुत्केरीलाई तीन महिनासम्म मासिक भत्ता दिने आश्वासन दिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको घोषणापत्रमा परम्परागत रूपमा चलिआएका मूल्य मान्यतालाई निरन्तरता दिँदै समयानुकूल सुधार गर्ने कुरा उल्लेख गरिएको छ ।

आफूले जितेका स्थानीय तहमा छ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने तथा सबै स्थानीय ऐनको निर्माण तथा परिमार्जन गरिसक्ने राप्रपाले प्रतिबद्धता जनाएको छ ।

राप्रपाले हरेक वडामा स्वास्थ्य चौकी तथा प्रसूति सेवा दिने, हरेक स्थानीय तहमा न्यूनतम एक सुलभ औषधि पसल खोल्ने र किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने बताएको छ । यस्तै, छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने तथा छात्रा शौचालय अनिवार्य गर्ने घोषणा गरेको छ ।

राप्रपाले १२ कक्षासम्म पूर्ण निःशुल्क बनाउने तथा सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने जनाएको छ । एक एक जना प्रतिभाशाली विद्यार्थीलाई चिकित्साशास्त्र र इन्जिनियरिङमा छात्रवृत्ति दिने घोषणपत्रमा उल्लेख छ ।

टिप्पणीहरू