डोजर निकाल्दा कंकाल भेटियो

डोजर निकाल्दा कंकाल भेटियो

-शंकर श्रेष्ठ

उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–१, तिप्लिङको लिङ्जोमा सडक खन्ने क्रममा पहिरोले डोजरसहित पुरिएका दुई जनाको शव तीन महिनापछि फेला परेको छ ।

सडक खन्दै गर्दा माथिबाट चट्टान खसेर डोजरसहित पुरिएका चालक काभ्रेका पूर्णबहादुर रुम्बा र स्थानीय धन तामाङको कंकाल मात्रै भेटिएको हो । उनीहरुले लगाएको कपडाको आधारमा शव पहिचान गर्न सकिने स्थानीय शिक्षक टेकबहादुर घलेले बताए ।

गत पुस २९ गतेको एउटै पहिरोमा पुरिएका सहचालक राजु तामाङको दुई दिनपछि नै शव भेटिए पनि चालक रुम्बा र स्थानीय तामाङ बेपत्ता थिए । पहिरोबाट डोजरको पार्टपुर्जा निकाल्ने क्रममा दुवै शवको कंकाल मात्रै भेटिएको हो ।

‘ढुंगामाटो पन्छाउँदै डोजरका सामानहरु निकाल्ने क्रममा कुहिएको जस्तो गन्ध आउन थाल्यो, त्यसपछि आफन्त र गाउँलेहरु मिलेर खोतल्दै जाँदा टाउको, हड्डी, मेरुदण्ड र हातखुट्टाका हड्डीहरु भेटियो’, शिक्षक घलेले भने, ‘मासुजति कुहिएर सकिएछ, उनीहरुले लगाएको कपडा र शरीरको कंकाल मात्रै भेटियो ।’

पहिरोमा गुल्टिएर खन्दै गरेको सडकभन्दा तल खोलामा पुरिएको डोजरसँगै दुबै जनाको कंकाल एकै ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका फोकल पर्सन (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए । चालक रुम्बाको आफन्त आउँदै गरेकाले भेटिएको कंकालको विषयमा कुनै निर्णय नभइसकेको उनले बताए ।

टिप्पणीहरू