चोरीको मोटरसाइकल सहित वडा अध्यक्ष पक्राउ
जाजरकोटमा चोरीको मोटरसाइकलसहित वडा अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुनलाई चोरीको मोटरसाइकलसहित प्रहरीले समातेको हो ।
प्रहरीका अनुसार मिति वैशाख ४ गते नलगाड नगरपालिका १ कल्पतस्थित सडक बाटोमा सवारी धनी कागजात नभएको लु ५९ प ०२१७ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाइकल चलाई ल्याई पार्किङ गरी राखेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल रीतपूर्वक बरामद गरी,चलाई ल्याई पार्किङ गरी राख्ने व्यक्तिको बारेमा अनुसन्धान गर्दै जाँदा वडाध्यक्ष पुन रहेको भनी खुल्न आएको हो । निजलाई खोजतलास गर्ने क्रममा ६ गते नै पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला ल्याईएको प्रहरीले जनाएको छ । वडा अध्यक्ष पुनलाई जाजरकोट जिल्ला अदालतबाट दिन ७ को म्याद थप लिई यस विषयमा थप अनुसन्धान कार्य भइरहेको छ ।
वडाध्यक्ष पुनले लामो समयदेखि उक्त मोटरसाइकल चलाउँदै आएका थिए । तर उनीसँग उक्त मोटरसाइकलका कुनै कागजपत्र थिएनन् । वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन । उनी अहिले प्रहरी हिरासतमा छन् । उनले वडाध्यक्षमा फेरि दोहोरिने इच्छा राखेका थिए ।
टिप्पणीहरू