तालमेलको चुनौती सकियो,अब बागी व्यवस्थापन र दक्षिणको खतरा बाँकी
सत्ता गठबन्धनमा आवध्द दलहरुको बैठक आज पनि बालुवाटारमा बसेको छ । हिजोसम्म भएका सबै निर्णय सार्वजनिक भइसकेका छन् । निर्णयपछि आ–आफ्नो पार्टीभित्र माथापच्ची भएको छ तर गठबन्धनको नेतृत्वमा खासै समस्या नरहेको दाबी गरिदैछ ।
राजनीतिक नेतृत्वमा सहमति भए पनि क्रस भोटिङको डर निकै रहेको बताइन्छ । विशेषगरी नेपाली काँग्रेसका मतदाताले अन्य पार्टीका उम्मेदवारलाई भोट नहाल्ने आशंका जीवितै रहेको हो ।
यसअघि एउटै चिन्हमा चुनाव ड्नेबारे पनि सत्ता गठबन्धनवीच छलफल भएको थियो । तर त्यसबारे केही निर्णय भएको छैन । आजको बैठकमा विशेषगरी केही जिल्ला र पालिकामा कसरी मिलाउने भन्नेबारे मिहीन ढंगले कुराकानी गरिएको छ । त्यसको निम्ति एउटा नीति बनाउन आजको बैठक बसेको हो । जहाँ जसको जनाधार उसैलाई नेतृत्व दिने सल्लाह छ ।
हिजोको बैठकको अन्तिमसम्म पनि जनकपुर उपमहानगरपालिकामा काँग्रेसको दाबी थियो । त्यहाँ काँग्रेसले छाड्दा विमलेन्द्र निधी बेखुस देखिएका छन् । निधीको चाहना अन्यत्र छाडेर भए पनि जनकपुर काँग्रेसले लिनुपर्छ भन्ने नै हो । तर यसअघि बनाइएको नीतिले त्यसो गर्न दिँदैनथ्यो । नीतिमा जसले जहाँ जितेको छ उसलाई दिने भनिएको छ ।
वीरगञ्ज जसपा र जनकपुर तत्कालीन राजपाले जितेको ठाउँ हो । तर अहिले जनकपुरको उक्त नेतृत्व जसपामा पसेको छ । त्यसैले काँग्रेसले जसपालाई छाड्नुपर्ने भएपछि गाँठो कसिएको थियो ।
काँग्रेसलाई जनकपुर नछाड्न मधेशबाट ठूलो दबाब रह्यो । जनकपुर र वीरगञ्ज कुनै हालतमा छाड्न हुँदैन भन्ने दबाबका कारण धेरै दिनसम्म कुरा मिलेन । नीति नै बदलेर जान पनि काँग्रेसलाई अप्ठेरो थियो । जनकपुरको सट्टा नेपालगञ्ज लैजान जसपालाई काँग्रेसले अन्तिम अफर गरेको थियो ।
जसपाले पनि जीवन मरणको सवाल बनाएको वीरगञ्ज महानगर र जनकपुर तथा नेपालगञ्ज उपमहानगरपालिका छाड्ने कुरै थिएन । लोसपाका ९ जना सांसद आफूतिर आएको सन्दर्भमा ती नगरहरु छाड्दा बाँकी अरुले पनि असुरक्षित महसुस गर्ने भएपछि जसपा चर्को दबाबमा परेको हो । आगामी संघीय चुनावमा आफूहरुले टिकट नपाउने सम्भावना देखेरै उनीहरुको पलायन शुरु हुने डर बढेपछि जसपाले अडान कायम राख्दा तीन चार दिन लफडा भएको नेपाली काँग्रेसका एक जना नेताले बताए ।
बैठकमा जसपाले आफ्नो एउटा प्रमुख आधार मधेश प्रदेश हो त्यहाँ पनि आफूलाई नाङ्गेझार बनाउने हो भने अन्त कहाँ भन्ने ? भनेर पटक पटक कुरो राख्दै आएको थियो । त्यसैले अन्तमा जनकपुर र वीरगञ्ज जसपाले पायो ।
महानगरपालिकाको भागबन्डा यसअघिको बैठकमा टुंगेकै थियो । जनकपुरले गर्दा मात्र उपमहानगरपालिकाको अड्केको हो । यसबाट विमलेन्द्र निधी असन्तुष्ट देखिएका छन् । त्यसैले यही घटनाबाट धेरै ठाउँमा काँग्रेसीहरु बागी उठ्ने सम्भावना रहेको बताइन्छ । यसमा शेखर कोइराला,गगन थापा र विमलेन्द्र निधी लागिसकेका छन् । अबको समस्या भनेको बागीको डर रहेको धेरैले महसुस गरेका छन् ।
‘चुनावमा राजपा र लोसपा अनि एमाले मिलाउन कोशिस भइरहेको छ । सायद मिल्छन् होला ।’
हिजोको बैठकमा बागीवारे प्रधानमन्त्री शेरबहादुर देउवाले केही पनि नबोल्नुभएको एक जना सहभागीले जनआस्थासँगको कुराकानीमा बताए । उनले बैठकमा गठबन्धन भत्काउन र अप्ठेरोमा पार्न दक्षिणले खेलिरहेको बारे चर्चा भएको जानकारी दिए । दलहरुको निश्कर्ष थियो, ‘चुनावमा राजपा र लोसपा अनि एमाले मिलाउन कोशिस भइरहेको छ । सायद मिल्छन् होला ।’
उनीहरुले एमालेलाई नै दक्षिणले बढी सपोर्ट गरेको कुरो पनि बैठकमा राखेका हुन् । दक्षिणको योजनामा शेखर,विमलेन्द्र र गगनहरु पनि मिसिने सम्भावना बढ्दै गएको छ । नेताहरुले भनेका छन्, ‘गठबन्धन र तालमेलको कुरो मिलाइयो । अबको खतरा र चुनौती भनेकै बागी उठ्छन् कि भन्ने हो । काठमाडौंको हकमा प्रकाशमान सिंहले देउवालाई सपोर्ट गरेका र उनकी श्रीमतीलाई उपमेयरमा उठाउन खोजिएकाले यता ढुक्क छ ।’
अन्यत्रको चुनावी अवस्थाबारे भने खासै कुराकानी नभएको बताइन्छ । पोखरा नेकपा एकीकृत समाजवादीले नछाड्ने भएपछि काँगेसको चाहना आफनो भोट परिवर्तन हुन गाह्रो छ भन्ने थियो । तर समाजवादीले एमालेको धेरै भोट ल्याउँछौं भनेपछि काँग्रेस अन्तिममा फेरिएको हो ।
त्यही सन्दर्भमा बैठकमा १० देखि १५ प्रतिशत मतदाताले भोट अर्को पार्टीका उम्मेदवारलाई नहाल्ने अवस्था बन्नसक्ने चर्चा भएको थियो । पहिलेको तालमेलले पनि त्यही देखाएको थियो । पहिले चितवनमा पनि त्यस्तै भएको हो । अन्यत्र पनि त्यस्तै अवस्था भएको र सबैले आफ्नै चिन्हमा भोट हाल्दा रद्द हुने सम्भावना अहिले पनि बढेको छ ।
०७४ मा काठमाडौंको उपमेयरमा एमालेसङ्ग मिल्दा राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठले २१ हजार भोट ल्याएका थिए । राप्रपा अध्यक्ष लिंगदेन अब एमाले अध्यक्ष ओलीसँग चुनावमा जाने सम्भावना निकै कम रहेको चर्चा गरिएको छ । राप्रपा एक्लै उठ्ने भनेकाले ऊ संगठन बनाउने योजनामा रहेको गठबन्धनको बैठकमा चर्चा भएको हो । राप्रपाको भोट कमल थापाले तान्न नसक्ने उनीहरुको ठहर छ ।
हिजो बालुवाटारमा एमालेको पहिलेको भोटमा राप्रपाको भोट घट्ने निश्कर्ष निकालिएको थियो । अहिले अलिकति बढाए पनि माओवादी र समाजवादीको भोट काँग्रेसमा जाने भएकाले एमालेलाई गाह्रो पर्ने काँग्रेसीहरुको निचोड छ । पछिल्लो दिनमा काठमाडौंमा काँग्रेसको राम्रो भएको,तराजुको क्रेज घटेको र हिन्दुत्वको भोट काँग्रेस र राप्रपालाई जाने भएकाले एमाले ढुक्क हुने अवस्था नरहेको काँग्रेस शीर्ष नेताहरुको बुझाइ छ ।
टिप्पणीहरू