यस्तो छ डब्लुएचओका महानिर्देशकको नेपाल भ्रमण तालिका
तीन दिने नेपाल भ्रमणमा इन्डिगो एअरको दिल्ली-काठमाण्डौ उडानबाट भर्खरै काठमाडौं आएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रिएस नेतृत्वको सात सदस्यीय टोली आज र भोलि व्यस्त हुने भएको छ । नक्सालस्थित होटल मेरियटमा बसेको उक्त टोलीलाई केहीबेर अघि विमानस्थलमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल,नेपालका लागि डब्लुएचओका प्रमुख राजेश सम्भाजी राव पाण्डे र परराष्ट्र मन्त्रालयकी सह–सचिव सेवा लम्सालसहितको टोलीले स्वागत गरेको थियो ।
अहिले होटल मेरियटमा लञ्च खाएपछि प्रतिनिधिमण्डलले दिउँसो ३ बजे स्वास्थ्यमन्त्री विरोध खतिवडासँग शिष्टाचार भेट गरेर औपचारिक कार्यक्रम थालनी गर्ने जनाइएको छ । त्यसपछि ४ बजे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग परराष्ट्र मन्त्रालयमा र बेलुकी ५ बजे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग संसद् सचिवालय सिंहदरबारमा शिष्टाचार भेटको कार्यक्रम मिलाइएको छ । साँझ ६ बजेदेखि स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रतिनिधिमण्डलको सम्मानमा होटल द्वारिकामा रात्रीभोजको आयोजना गर्नुहुने छ ।
भोलि बिहान साढे ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा र बिहान साढे १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम तालिका बनाइएको छ ।
त्यसपछि बिहान साढे ११ बजे टाइफाइडविरुद्ध खोप लगाइरहेका राजधानीका विभिन्न विद्यालयमा अवलोकनका लागि प्रतिनिधिमण्डललाई लगिँदैछ । दिउँसो २ बजे राष्ट्रिय प्रयोगशाला टेकुको अवलोकन र त्यसपछि ३ बजे पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण राखिएको छ ।
भोलि साँझ होटेल मेरियटमा स्वास्थ्य मन्त्रालयले अनौपचारिक रूपमा रात्रीभोजको आयोजना राखेको छ । त्यसपछि पर्सि बिहान साढे ९ बजे टोली जेनेभा फिर्ता हुने कार्यक्रम तय भएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
टिप्पणीहरू