सत्ता गठबन्धनले सातै प्रदेशमा आमसभा गर्ने
सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने भएको छ । रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको आज बसेको बैठकले वैशाख १८ देखि २२ गतेसम्म चुनावीसभा गर्ने निर्णय गरेको हो ।
जसअनुसार वैशाख १८ गते बिहान ११ बजे सुदूरपश्चिमको धनगढी र सोही दिन कर्णाली प्रदेशको सुर्खेतमा दिउँसो २ बजे चुनावीसभा हुनेछ । १९ वैशाख बिहान ११ बजे लुम्बिनी प्रदेशको बुटवल र सोही दिन दिउँसो २ बजे गण्डकी प्रदेशको पोखरामा सभा हुनेछ ।
यस्तै, २० वैशाख बिहान ११ बजे प्रदेश १ को विराटनगर र सोही दिन दिउँसो २ बजे मधेस प्रदेशको राजधानी जनकपुरमा चुनावी सभा तोकिएको छ । एक दिन खाली राखेर गठबन्धनले २२ वैशाखमा संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शनसहित चुनावी सभा गर्ने भएका छन् ।
सातै प्रदेश सदरमुकाममा आयोजना हुने सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरी छ जना शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
टिप्पणीहरू