पल शाह प्रकरणमा बाबु छोरीले सजायँ पाउने सम्भावना

पल शाह प्रकरणमा बाबु छोरीले सजायँ पाउने सम्भावना

पल शाह प्रकरणले नयाँ मोड लिएको छ । बलात्कार मुद्दामा पीडित भनिएकी किशोरी गायिकाले नै बयान फेरेपछि यो घटना फेरि कौतुहलको विषय बनेको छ । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी ती किशोरीले अहिले आएर उक्साहटमा त्यसो गरेको भन्दै बयान फेरेकी छन् । पीडित भनिएकी किशोरीको तनहुँ जिल्ला अदालतमा बकपत्र भइसकेको छ ।

किशोरीका बाबुको बयान लिन बाँकी छ । उनको पनि छोरीकै लाइनमा बयान आउने अनुमान गर्न कठिन छैन । प्रहरीमा आफैँले दिएको किटानी जाहेरीविरुद्ध अदालतमा होस्टाइल हुँदा किशोरी र बाबुमाथि पनि सजायँको कानुनी व्यवस्था आकर्षित हुन सक्छ । सरकारले केही समयअघि मुलुकी फौजदारी संहितासम्बन्धी अध्यादेश जारी गरेको छ । उक्त अध्यादेशले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ मा संशोधन गर्दै सजायँको थप व्यवस्था गरेको छ । दफा ४४ को खण्ड (क) पछि थप व्यवस्था गर्दै झुटा उजुरी तथा बकपत्र गर्नेलाई सजायँको बाधा नपर्ने भनिएको छ ।

अध्यादेशको ‘कारबाहीका लागि बाधा नपर्ने’ सम्बन्धी व्यवस्थामा यस्तो लेखिएको छ, ‘खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए पनि जबर्जस्ती करणीसम्बन्धी मुद्दाको झुटा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई जबर्जस्ती करणीसम्बन्धी कसुर गर्ने कसुरदारलाई हुने सजायँको आधा हुनेछ ।’ यसअघि उजुरी दिने तथा बकपत्र गर्ने व्यक्तिले आफ्नो बयान फेरेमा तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुने अत्यन्त न्यून व्यवस्था थियो । तर, जाहेरवाला र बकपत्र गर्ने व्यक्तिले उजुरी गरेबापत के हुने भन्नेमा संहिता मौन नै रह्यो । अब भने बयान फेरे पनि न्यायाधीशले सजायँ गर्न सक्ने छन् ।

यसरी होस्टाइल हुनेहरूको हकमा अध्यादेशको व्यवस्थाअनुसार कारबाहीको दाबी गर्न सकिन्छ । नाबालिग भनिएकी किशोरीको स्वास्थ्य जाँच परीक्षणमा कन्या झिल्ली च्यातिएको देखिएको छ । तर, अदालतमा किशोरीको बयान पूरै फेरिएको छ । किशोरीले पलले आफूलाई बलात्कार नगरेको बताउँदै उक्साहटमा जाहेरी दिएको भनेकी छन् । उनले शुरुमा पोखरा, तनहुँ गैंडाकोटमा पलले आफूमाथि बलात्कार गरेको दाबी गरेकी थिइन् । प्रलोभन र दबाबमा परेर अदालतमा बयान फेरेको शंका गर्न कठिन छैन ।

अदालतले जाहेरीका आधार, तथ्य प्रमाण, घटना प्रकृति मुचुल्का र चिकित्सक प्रतिवेदनलाई पनि हेर्छ । तर, घटनाक्रम र तथ्यबाट बाबु र छोरी दुवैले यदि साँच्चै उक्साहटमा लागेर जाहेरी दिएको स्वाभाविक रूपमा देखियो भने सफाइ हुन सक्छ । होइन, प्रभाव र प्रलोभनमा परेर बयान फेरेको भेटिएमा बाबु छोरीलाई नै जेल सजायँ हुन सक्नेछ । अहिले किशोरीले एक सय असी डिग्रीमा गएर बयान फेरेको अवस्था छ । यो प्रहरी, अनुसन्धान अधिकृत र सरकारी वकिलको अभियोजनलाई ठूलो चुनौती हो । जबकि मौकामा दिएको जाहेरीमा पटकपटक बलात्कार भनेर सनाखत गरिएको छ ।

प्रहरी अनुसन्धान र सरकारी वकिलको अभियोजनलाई चुनौती दिएको प्रमाणित भए नयाँ थपिएको कानुनी प्रावधानअनुसार जाहेरीवालालाई ६ वर्षसम्म कैद हुन सक्छ । पटक पटक शारीरिक सम्पर्क हुँदा गायिका किशोरीको उमेर १७ वर्ष रहेकाले पल शाहविरुद्ध १२ वर्षदेखि १४ वर्षसम्म कैद सजायँ माग गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । शाह हाल अदालतको आदेशअनुसार दमौली कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

टिप्पणीहरू