मेयर,उपमेयरले कसलाई राजीनामा बुझाउने ?
वैशाख ३० गतेलाई तोकिएको स्थानीय तहको चुनाव हुन अब २२ दिन बाँकी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार चैत ११ र १२ गते देशभर एकैसाथ उम्मेदवारी मनोनयन हुँदैछ । तर,उम्मेदवारी मनोनयन दर्ता गर्न मात्रै तीन दिन बाँकी हुँदा फेरि उम्मेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधि अन्योलमा परेका छन् ।
निर्वाचन आयोगले चैत २५ गते जारी गरेको आचारसंहिताको एउटा बुँदाले यस्तो अन्यौल निम्त्याएको हो । आचार संहितामा बहालवाला जनप्रतिनिधिले चुनाव लड्न पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ । तर, कहाँ, कसलाई र कसरी राजीनामा बुझाउने भन्ने विषयमा प्रष्टता नहुँदा फेरि दोहोरिन चाहेका जनप्रतिनिधिहरु अलमलमा परेका हुन् ।
“संवैधानिक निकायका प्रमुखहरुले राष्ट्रपतिलाई राजीनामा बुझाएकै शैलीमा मेयर/अध्यक्षहरुले राजीनामा दर्ता गरेपछि स्वीकृत भैरहन नपर्ने उहाँको भनाइ छ ।”
यसबारे चासो व्यक्त हुन थालेपछि निर्वाचन आयोगले राजीनामाको मोडालिटी र प्रक्रियाबारे निर्णय गर्दैछ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार वडासदस्य,वडाध्यक्ष र उपप्रमुख/उपाध्यक्षले मेयर/अध्यक्षलाई राजीनामा बुझाउनुपर्ने हुन्छ भने मेयर/अध्यक्षले आ-आफ्नो कार्यालयमा राजीनामा दर्ता गरेर छोडिदिए पुग्छ । संवैधानिक निकायका प्रमुखहरुले राष्ट्रपतिलाई राजीनामा बुझाएकै शैलीमा मेयर/अध्यक्षहरुले राजीनामा दर्ता गरेपछि स्वीकृत भैरहन नपर्ने उहाँको भनाइ छ ।
त्यसरी राजीनामा दर्ता गरेको प्रमाणका आधारमा चुनावमा उम्मेदवारी दिन पाइने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।
संविधानको धारा २१६ मा नगर कार्यपालिका प्रमुख/उपप्रमुखबारे व्यवस्था छ । उपधारा ८ मा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको पद रिक्ततासम्बन्धी व्यवस्था छ । प्रमुखले उपप्रमुख समक्ष र उपप्रमुखले प्रमुखसमक्ष लिखित राजीनामा दिएमा, पदावधि समाप्त भएमा र मृत्यु भएमा पदरिक्त हुने व्यवस्था यस उपधाराले गरेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको हकमा पनि त्यस्तै व्यवस्था छ ।
तर, राजीनामा स्वीकृत हुनु पर्ने या नपर्ने भन्नेबारे प्रष्ट व्यवस्था संविधानमा छैन ।
टिप्पणीहरू