पाँचथरमा देशकै ठूलो र पित्तलको बुद्धमूर्ति
प्रदेश १ को पहाडी जिल्ला पाँचथरको मिक्लाजुङ गाउँपालिकामा देशकै ठूलो र पहिलो पित्तल धातुको बुद्धमूर्तिसहितको पार्क स्थापना भएको छ ।
मिक्लाजुङ गाउँपालिका–४ स्थित जडिबुटे सामुदायिक वन क्षेत्रमा ३८ फिट अग्लो पित्तल धातुको बुद्धको मूर्तिसहितको पार्क सञ्चालनमा आएपछि पर्यटन व्यवसायले ठूलो फड्को मार्ने स्थानीयले आशा लिएका छन् । त्यसैले बाह्रै महिना चिसो हावापानी भएको मिक्लाजुङ गाउँपालिकाको मुकाम तथा ऐतिहासिक रवि बजारमा धमाधम स्तरीय होटलहरु निर्माण भइरहेका छन् ।

बुद्धमूर्ति निर्माणसँगै पालिकाले त्यहाँको सडक कालोपत्रे गरेर सहज यातायातको लागि मार्ग प्रशस्त गरिसकेको छ । बजारमा ठूला र पक्की घरहरु निर्माण हुने क्रम पनि तीब्रताका साथ अघि बढेको छ ।
गाउँपालिकाका प्रमुख अमरराज माखिम र स्थानीयको परिकल्पनामा १७ टन तौल भएको पित्तल धातुको ३८ फिट अग्लो भगवान बुद्धको मूर्ति लगभग निर्माण भइसकेको छ । करिब साढे तीन करोड रुपैयाँ लागतमा बनाइएको उक्त मूर्ति चर्चित कलाकार नवीन सुवेदीको नेतृृत्वमा एक वर्षदेखि निर्माण भएको हो । कलाकार सुवेदीका अनुसार उनको नेतृत्वमा १४ जना कालिगढ़ निरन्तर खटेका छन् ।

देशकै ठूलो र पहिलो पित्तल धातुको बुद्धमूर्ति निर्माण गरिरहेका कलाकारहरुले बुद्धपार्कको उद्घाटन राष्ट्रिय व्यक्त्तित्वबाट होस् भन्ने चाहना राखेका छन् । आफूहरुले रोजगारीका लागि नभई देशको नाम राख्नको निम्ति कठिन मेहनत गरेकाले राष्ट्रिय व्यक्तित्वबाट पार्कको उद्घाटन भएमा सफलताको अनुभूति हुने सुवेदी बताउँछन् । उनी भन्छन्, ’हामीले यहाँ पैसा कमाउन मेहनत गरेका होइनांै, मात्र निर्माण भएको बुद्धपार्क राष्ट्रको गर्विलो सम्पत्तिका रुपमा रहोस् भन्ने मात्र चाहना राखेका हौं ।’

झापाको दमकदेखि ५० किलोमिटर उत्तरमा पर्ने ऐतिहासिक रवी बजारबाट करिब पाँच किलोमिटर उत्तरको लेकाली क्षेत्रमा पर्छ नवनिर्मित बुद्धपार्क । मिक्लाजुङ बजारमै किराँत धर्मगुरु फाल्गुनन्द पार्क पनि रहेको छ । इलामको कन्यामजस्तै हावापानी र प्राकृतिक सौन्दर्यले भरिपूर्ण सेन्छेहाडा चिया बगान पनि उक्त क्षेत्रमा पर्दछ ।
बुद्धपार्क नजिकै ऐतिहासिक धार्मिकस्थल बेहुलीढुंगो र सुन्दर मिक्लाजुंग पोखरी र याराङ छाँगा पनि छ । साथै यहाँ आधुनिक नमूना कृषि फार्म पनि सञ्चालनमा आइसकेको छ । पालिकाले बाढीपहिरो प्रकोपका बेला पीडितलाई सोझै उद्धार गर्न छतमा हेलिकप्टर अवतरण गराउन मिल्ने सुविधासहितको प्रशासनिक भवन पनि निर्माण गरिएको छ ।

सडक स्तरोन्नतीपछि मिक्लाजुङ पर्यटकहरुका लागि नयाँ आकर्षक गन्तव्य बन्नेमा आशावादी देखिन्छन् स्थानीय होटल व्यवसायी भक्तकुमार मगर । उनी भन्छन, ’पाँचथरको विकासमा पर्यटन क्षेत्र मुख्य सम्भावनाको क्षेत्र हो, त्यसैले सडक कालोपत्रे भएपछि दैनिक एक सय बढी पर्यटक आउने विश्वास लिएका छौँ ।’
तर, झापाको दमकबाट पहाडी जिल्ला पाँचथरको रवीसम्म जाने सडक स्तरोन्नतिका लाग संघीय सरकारबाट ठेक्का लागिसकेको छ । दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने गरि ठेक्का लागेको भए पनि निर्माण कार्य सुस्त छ । त्यसैले त्यहाँका स्थानीय र सरोकारवालाहरु समयमै सडक काम सम्पन्न हुनेमा ढुक्क छैनन् । सडक निर्माणको कार्यलाई तीब्र पारिनुपर्ने र प्रदेश सरकारले पनि गौरवको आयोजनाभित्र राखेर प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ । जीर्ण सडक भएको सो क्षेत्रमा १५ वर्षदेखि पूराना जीपहरु मात्र सञ्चालनमा रहेको चालक सकुराज मगर बताउँछन् ।


टिप्पणीहरू