विप्लवले क–कसलाई फर्काए ?

विप्लवले क–कसलाई फर्काए ?

विप्लव समूहमा आगामी स्थानीय तह चुनावलाई प्रयोग कि बहिष्कार गर्ने भन्ने विषयले विवाद बढाएको छ ।

केही समयअघिसम्म झण्डै अल्पमतमा रहेको देखिएका विप्लव बैठक सकिँदा नसकिँदै बहुमत सदस्य जुटाउन सफल भएका छन् । स्रोतका अनुसार बैठकमा पूर्ण मतदान गर्न पाउने ३२ सदस्यमध्ये प्रारम्भमा १७ जनाले मात्र विप्लवको पक्षमा धारणा राखेका थिए ।

बाँकी १५ जनामध्ये केहीले बीचको धारणा र अत्यन्तै थोरै संख्याका सदस्यले मात्रै बहिष्कारवादी मत राखेको बताइन्छ । मध्यमार्गी धारणा राख्नेमध्ये बैठक सकिँदा नसकिँदै चार जना विप्लवतर्फ फर्किसकेका छन् ।

चुनावको विपक्षमा धारणा राख्दै आएका सुदर्शन अर्थात् धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ हेमन्तप्रकाश वली ‘सुदर्शन’ को पक्षमा भने मुश्किलले आधा दर्जनले पनि कुरो नराखेको चर्चा छ । पार्टीको निर्णयमा पनि ‘चुनावमा नजाने होइन, चुनाव प्रयोग गर्ने’ भन्ने वाक्य लेखिएको बताइन्छ । सुदर्शनको पक्षमा धर्मेन्द्र बाँस्तोला, गुणराज लोहनी, पूर्ण सिंह, समर, आस्था अर्थात् लमजुङकी सावित्री दुरा र अर्का एक जना देखिएका छन् ।

स्रोत भन्छ, ‘सुदर्शन र कञ्चनसँग कस्सिएर लाग्ने भनेका यिनै मात्र हुन् ।’ गत महिनाको बैठकपछि विप्लवको पार्टीबाट ‘रातो खबर’ वाला भीम चापागाईं बाहिरिएका छन् । सम्भवतः अर्को बैठकसम्ममा गुणराज लोहनी पनि पार्टीमा नदेखिन सक्ने आकलन गर्न थालिएको छ । समर र पूर्ण सिंहको बारेमा खासै केही चर्चा सुनिएको छैन ।

पहिले सुदर्शनतर्फ लागेर अहिले विप्लवतिर फर्कनेमा खुमा सुवेदी मुख्य हुन् । उनले सुदर्शनतिर कहाँ लागिन्छ ? भन्दै विप्लवलाई साथ दिएकी छन् । नवीनले पनि सुदर्शनलाई नेता मान्न सकिँदैन भन्दै मूलघरमै बस्ने संकेत दिएका छन् । उता बन्धु चन्दका दम्पत्ति पनि सुदर्शनतर्फ नलाग्ने अवस्था बन्दै गएको छ । उनीहरू लुम्बिनीतिरैका हुन् ।

टिप्पणीहरू