नयाँ विमानस्थल उद्घाटनअगावै भर्तिको भीड

नयाँ विमानस्थल उद्घाटनअगावै भर्तिको भीड

अस्तिदेखि भैरहवास्थित गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रन वे) सञ्चालनमा आएको छ । विमानस्थलको मुख्य टर्मिनल भवनको प्रयोग भने आगामी जेठ २ गते बुध्द पूर्णिमाको दिनदेखि मात्र हुने बताइएको छ ।

हिजोदेखि उक्त रनवेमा आन्तरिक उडानमा रहेका विमानहरुले मात्र प्रयोग गरेका छन् । तर, आकस्मिक रुपमा आवश्यकताअनुसार काठमाडौंमा अवतरण गर्नुपर्ने ठूला जहाजले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग प्रयोग गर्न सक्नेछन् ।

बैशाख १ गते नयाँ वर्षको पहिलो दिनदेखि नै विमानस्थल प्रयोगमा ल्याइने यसअघिको घोषणा अस्तिदेखि आंशिक रुपमा पूरा भएको छ । एउटा विमानस्थल सञ्चालनको निम्ति प्रशासनिकभन्दा बढी प्राविधिक कर्मचारीको आवश्यकता पर्ने विज्ञहरु बताउँछन् ।

भर्खरै सञ्चालनमा ल्याइएको उक्त विमानस्थलमा प्रयोग गरिएका कर्मचारीको बारेमा नानाथरीका टिकाटिप्पणीहरु हुन थालेका छन् । विमानस्थलको स्थायी र महँगो संरचना एवम् हवाई उडानजस्तो संवदेनशील क्षेत्रमा अधिकांश करार र ज्यालादारीमा भर्ना गरिएका कर्मचारी राख्दा त्यसमा गरिएको अरबौंको लगानी कालान्तरमा बालुवामा पानी हुनसक्नेतर्फ औंल्याइएको छ ।

विशेषगरी प्राविधिक कर्मचारीलाई महँगो शुल्कमा विदेशमा तालिम दिनुपर्ने हुन्छ । अस्थायी वा करारका कर्मचारीलाई त्यस्तो तालिम दिँदा पछि राज्यले उ वा उनीबाट पाउनुर्ने उपलब्धी शुन्य हुने सम्भावना अत्यधिक रहेकोतर्फ सम्बन्धित निकायले फिटिक्कै ध्यान नदिएको गुनासो सुनिएको हो ।

एकातिर नागरिक उड्डयन प्राधिकरणका र अर्कोतर्फ नेपाल वायुसेवा निगमका कर्मचारी राख्ने क्रममा पछिल्ला दिनमा दिनहुँ आधदेखि एक दजर्नसम्म कर्मचारी तालुक मन्त्रालयबाट सिफारिस भएर आउने गरेको निगम र प्राधिकरण स्रोतले बताएको छ । ती दुवै निकायको तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हो ।

पछिल्लो केही महिनादेखि मन्त्री प्रेमबहादुर आलेमगरले पशुपतिको धर्मशालामा होटल सञ्चालन गर्ने र नारायणहिटी दरबार संग्रहालयभित्र क्याफेको नाममा बार एण्ड रेष्टुरेण्ट सञ्चालन गर्न खोज्ने बतास समूहमाथि गरेको कारवाहीलाई सबैले प्रशंसा गरेका छन् । तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करार र ज्यालादारीमा भर्ना गरिएका अधिकांश कर्मचारीले उनै मन्त्री र मन्त्रीका पिए भक्त आलेको नाम लिँदै निगम र प्राधिकरणमा गएपछि सबैले अचम्म मान्न थालेका हुन् ।

कतिपयले मन्त्रीको नाममा मुन्तिरका कर्मचारी वा निजी सचिवालयमा कार्यरत आफन्तहरुले कर्मचारी भर्नाको नाममा तर मारेको हुन सक्ने आशंका पनि गरेका छन् । तर, विमानस्थलमा राखिने प्राविधिक कर्मचारीको हकमा स्थायी र क्षमतावान कर्मचारीको विकल्प करार वा अस्थायीमा भर्ना गरिने जो पायो त्यही हुन नसक्नेमा सबै एकमत देखिन्छन् ।

टिप्पणीहरू