अमेरिकीहरुलाई भेट्न मिनेन्द्र रिजालको टोली होटल मेरियटमा

अमेरिकीहरुलाई भेट्न मिनेन्द्र रिजालको टोली होटल मेरियटमा

नेपाल भ्रमणमा हिजो साँझ काठमाडौं आएको अमेरिकी सांसदहरुको टोलीसँग नेपाली सांसदहरुले भेट गर्न लागेका छन् । अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डल बसेको नक्सालस्थित होटल मेरियटमा भेटवार्ता हुने बताइएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व काँग्रेस नेता तथा सांसद डा. मिनेन्द्र रिजालले गर्दैछन् । बिहान ११ बजे नेपाल–अमेरिका संसदीय समूहका संयोजक रिजाललगायतले अमेरिकीहरुसँग भेट्ने कार्यक्रम तय गरिएको हो ।

बैठकको सुरुमा फोटो, भिडियो खिच्ने र बैठकपछि सञ्चारकर्मीलाई ब्रिफिङ गराइने कार्यसूची रहेको छ ।

नेपाल भ्रममणमा आएको अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डल अमेरिकी वायु सेवाको हवाइजहाजमा हिजो काठमाडौं विमानस्थलमा ओर्लिएका हुन् । सिनेटर क्रिस्टेन गिलब्राण्डको नेतृत्वमा शेल्डन ह्वाइट हाउस, कोरी बुकर र मार्क केली र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स रहेको प्रतिनिधिमण्डलमा पाँच जना सांसद र १६ जना अन्य कर्मचारी छन् ।

अमेरिकी सांसदहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य सरकारी अधिकारी तथा राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डल नेपालको हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको प्रभावको अध्ययन गर्न आज दिउँसो पदयात्रामा निस्कँदैछ ।

टिप्पणीहरू