माधव नेपालले आज एमाले त्याग्नुको कारण खोल्नुभयो
नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीका अध्यक्ष माधवकुमार नेपालले व्यक्तिवादी चरित्रले भासिएको एमालेले माक्र्सवाद र लेनिनवादका आदर्श त्यागेकाले आफूहरूले एमालेबाट विद्रोह गरी नयाँ दल स्थापना गरेको बताउनुभएको छ । उहाँले उक्त कुरा आज पार्टी अफिसमा आयोजित नेकपा स्थापना दिवसको अवसरमा बताउनुभएको हो ।
उहाँले पुष्पलालले स्थापना गरेको पार्टीमा गलत प्रवृत्ति नेतृत्वमा पुग्दा पुष्पलालले विद्रोह गरी पुनःकम्युनिष्ट आन्दोलनलाई रक्षा गर्न नयाँ पार्टी स्थापना गरेको स्मरण गर्दै भन्नुभयो, ‘अहिले आफूले पनि कम्युनिष्ट आदर्शलाई जगेर्ना गर्न नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेको हो ।’
उहाँले कम्युनिष्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्नेमा त्यसो हुन नसकिरहेको बताउनुभयो । मुलुकमा समृद्धि कायम गरी जनताको सुखको आकांक्षा पूरा गर्न समाजवादी अर्थव्यवस्थाको खाँचो रहेको उहाँको भनाइ थियो ।
आजै राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा खेलाडी पीताम्बर तिम्सिनाको नेतृत्वमा एक सयभन्दा धेरै कार्यकर्तालाई अध्यक्ष नेपालले पार्टीमा प्रवेश गराउनुभएको छ ।
टिप्पणीहरू