शीतल निवासमा श्रीयन्त्रको चर्चा

शीतल निवासमा श्रीयन्त्रको चर्चा

राष्ट्रपति विद्यादेवी भण्डारीले वास्तु विज्ञ तथा राष्ट्रिय झण्डाको वर्तमान स्वरूपका ‘डिजाइनर’ शंकरनाथ रिमालको ‘श्रीयन्त्र’ मा समेटिएका पक्षहरू पूर्वीय दर्शनका प्रत्यक्ष प्रमाण भएको बताउनुभएको छ । रिमालको लामो समयको अनुसन्धानपछि प्रकाशित उक्त कृति समाजका निम्ति महत्वपूर्ण दस्तावेज रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

‘श्रीयन्त्र’ दस्तावेज समर्पण समारोहमा राष्ट्रपति भण्डारीले हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ, प्रसिद्ध तलेजु भवानीको मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदामा श्रीयन्त्रद्वारा विभूषित गर्ने परम्परा भएबाट योमुलुकको सांस्कृतिक प्रतीकको रूपमा बताउनुभएको हो ।

पुस्तकबारे टिप्पणी गर्दै एक हजार आठ स्वामी रमणानन्द गिरीले संसार सञ्चालन भएको शिव र शक्तिको समरस्यको प्रतीक श्रीयन्त्र सृष्टि, स्थिति र संहारको मूल स्वरूप भएको अर्थ लगाउनुभएको छ । ऋग्वेददेखि नै श्रीयन्त्रको उपासना हुने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘लेखक रिमालले वर्षौँ लगाएर श्रीयन्त्रको ज्यामितीय अनुपात निकाल्नुभएको छ । यो निकै खुशीलाग्दो कुरो हो ।’

श्रीयन्त्रमा शिवका चार र शक्तिका पाँच त्रिकोण हुन्छ । शिव भनेको प्रकाश हो र शक्ति भनेको विमर्श हो । तिनीहरूबिच चन्द्र र चन्द्रिकाको जस्तै अभेद्य सम्बन्ध रहेको बताइन्छ । सृष्टिको त्यही रहस्यलाई प्रकट गर्ने उद्देश्यले श्रीयन्त्रको रचना गरिएको मान्यता छ ।

टिप्पणीहरू