दलालका घरबाट सुरक्षाकर्मी तानिए

दलालका घरबाट सुरक्षाकर्मी तानिए

वैशाख १९ गते नै घर जाने छोटो अवधिका नयाँ आइजिपी पुष्पराम केसीले सशस्त्र प्रहरीको हितमा दीर्घकालीन महत्वको छक्का मारेका छन् । उनले देश र जनताको सुरक्षार्थ खटिने फौजी जवानहरूलाई दलाल र बिचौलियाको घरमा काम गर्न पठाउने चलनलाई तोडिदिएका हुन् । गत हप्ता मात्र कार्यभार सम्हालेका उनले पूर्ववर्ती हाकिमहरूसँग उठबस गर्ने दलालहरूकोमा घरेलु कामदारका हैसियतमा पठाइएका जवानहरूलाई फिर्ता बोलाएका छन् । केसीले बूढानीलकण्ठ बस्ने नरेश भट्टको घरमा काम गर्ने २ जना, आफुलाई पत्रकार भन्ने टीकाराम खनालको लागि खटिएका एक ड्राइभरसहित विभिन्न दलालको सेवामा तैनाथ ९ जना सरकारी कर्मचारीलाई फिर्ता ल्याएको स्रोतले दाबी गरेको छ ।

यस्ता सशस्त्र प्रहरीहरू कार्यदल र गणबाट आइजिपीको सचिवालयका निम्ति भन्दै ल्याउने तर अमरेशकुमार सिंहजस्ता विदेशी र भट्टजस्ता स्वदेशी दलालको घरमा काम गर्न पठाउने थिति बसालिएको थियो । दलालहरूसँग आफ्नो सम्बन्ध बिग्रने गरी सुरक्षाकर्मी फर्काइएपछि निवर्तमान आइजी शैलेन्द्र खनाल नयाँ आइजी केसीसँग रुष्ट भएको चर्चा छ । स्मरणीय छ, दलालहरूलाई कुनै पनि बहानामा सशस्त्र प्रहरीको सेवा उपलब्ध गराउने कानुनी प्रावधान छैन ।

किशोर लामा १४ दिने आइजी हुँदा शरद भवन सरे पनि सशस्त्र प्रहरीमा सिष्टम बसाल्छु भन्ने नयाँ आइजिपी केसी क्वार्टर पनि नसर्ने भएका छन् । ३० वर्षे सेवा अवधिको हदम्यादका कारण उनी २८ दिनमै बिदा हुने आइजिपी हुन् ।

केसी आइजिपी भएपछि रिक्त एक जना एआइजिपीको दरबन्दीमा वरिष्ठताबमोजिम गृह मन्त्रालयले आइतबार मात्रै राजु अर्याललाई बढुवा सिफारिस गरेको छ । उनी अब ४ वर्षका लागि आइजिपी हुनेछन् ।

आइजिपी केसीले सशस्त्र प्रवक्तामा डिआइजी विदुर खड्कालाई जिम्मेवारी दिएका छन् । खड्का यसअघि हल्चोकको प्रबन्ध महाशाखामा कार्यरत थिए । यसअघि डिआइजीको पद रिक्त भएको बेला कायममुकायम एसएसपी शिवराज तिम्सिनाले सो जिम्मेवारी पाएका थिए । आइजिपी केसीले छोटै समयमा केही काम गरेर देखाउँछु भनी कस्सिए पनि वैशाख ३० गते हुने स्थानीय तहको चुनावका कारण गर्न सकिने अवस्था भने छैन ।

अवकाशप्राप्त आइजिपी खनालले नियमानुसार ६ जना सशस्त्र प्रहरीको सुरक्षा प्राप्त गर्न सक्ने भए पनि ४ जना लगेका छन् । उनको सुरक्षाको जिम्मेवारी अब एक जना वरिष्ठ हवल्दारले गर्नेछन् । आइजिपी निवासमा सलामी टोली, भान्से, परिचारक र ड्राइभरलगायत ३२ जना सुरक्षाकर्मीको दरबन्दी रहन्छ । तीमध्येबाटै भूपू आइजिपीहरूले रोजीछानी आफूसँगै लैजाने गरेका हुन् । खनालले पनि एसपी हुँदादेखि आफैंसँग राखेको ड्राइभर सन्तोष राउतलाई लगेका छन् ।

टिप्पणीहरू