एमाले नगर कमिटीको एकमुष्ट राजीनामा,पार्टी कार्यालयमा भोटेताल्चा
इलाम नगरपालिकाको प्रमुख पदमा नरेन्द्रनाथ भट्टराईको नाम सिफारिस भएको भन्दै नगर कमिटीका पदाधिकारी र सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । नगर र जिल्ला कमिटीले प्राथमिकताको क्रम तोकेर तीन जनाको नाम सिफारिस गरेको थियो । जिल्ला कमिटीले धिरेन चेम्जोङ्गको नाम प्राथमिकताको एक नम्बरमा राखेको हो । दुई नम्बरमा कृष्ण श्रेष्ठ र तीन नम्बरमा नरेन्द्रनाथ भट्टराईको नाम थियो ।
नगरमा चेम्जोङ्गको माहौल भएको र जिल्ला कमिटीले समेत प्राथमिकताको क्रममा पहिलो नम्बरमा तोकेर पठाए पनि तीन नम्बरमा रहेका भट्टराईको नाम सिफारिस भएकाले सामुहिक राजिनामा आएको बताइन्छ । भट्टराईलाई चुनावी अभियानमा लिएर जान नसकिने भन्दै सामुहिक राजीनामा दिएका हुन् । जित्ने उम्मेदवारलाई षड्यन्त्रपूर्वक पाखा लगाउने काम भएको भन्दै नगर कमिटीले आपत्ति जनाएको छ ।
नगर कमिटीसँगै एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल इलामका अध्यक्ष चन्द्र पाठक,रिटर्नी फेडरेशन नेपाल इलामका अध्यक्ष हेमन्त आचार्यलेसमेत असन्तुष्टि पोख्दै राजीनामा दिएका छन् ।
पार्टी कार्यालयमा ताल्चा
धिरेन चेम्जोङको नाम सिफारिस गर्न माग गर्दै युवाहरुले हिजो साँझदेखि एमाले जिल्ला कमिटीको कार्यालयमा ताल्चा लगाइदिएका छन् । सामाजिक सञ्जालमा नगरमा माहौल नभएको व्यक्तिलाई प्रमुखको टिकट दिइएको भन्दै युवाहरुले आपत्ति जनाएका हुन् ।

टिप्पणीहरू