टिकट नपाउँदा पार्टी नै इधर उधर
स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको अघिल्लो दिन हिजो दिनभर राजनीतिक सरगर्मी बढेको छ । गठबन्धन दलहरुबीचको भागबण्डा र पार्टीभित्रका आकांक्षी व्यवस्थापन गर्न सकस झेलिरहेका प्रमुख राजनीतिक दलका नेता दिनभर त्यसैमा व्यस्त रहे । केही महानगर र उपमहानगरबाहेक अधिकांश पालिकामा उम्मेदवार टुंग्याउन नसकेका दलका शीर्ष नेताहरुको बहुपक्षीय भेटवार्ता र दौडधुप आज पनि उस्तै छ ।
उम्मेदवार चयनकै विषयमा छलफल गर्न हिजो सत्तारुढ दल माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बसेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बिहानै भएको बैठकमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ,कृष्णबहादुर महरा,देव गुरुङ,पम्फा भुषाल,देवेन्द्र पौडेल,जनार्दन शर्मा,शक्ति बस्नेत, लीलामणि पोख्रेल,हितमान शाक्य लगायतका नेताहरुको उपस्थिति थियो । अनौपचारिक बैठक बिहान पौने आठदेखि पौने ११ बजेसम्म चलेको हो ।
उम्मेदवार चयनमा सबैभन्दा बढी सकस झेलिरहेको प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि हिजै पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएको थियो । बिहान पौने नौदेखि सवा ११ बजेसम्म बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ्ग,वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा,सहमहामन्त्री महेन्द्र यादव,प्रवक्ता डा. प्रकाशशरण महत,नेताहरु शेखर कोइराला,कृष्ण प्रसाद सिटौला,प्रकाशमान सिंह, विजयकुमार गच्छ्दारलगायत सहभागी थिए ।
सत्ता साझेदार दुई ठूला दलका नेताहरु उम्मेदवार छान्न व्यस्त रहँदा तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीले भने नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाएको थियो । आलोकनगरस्थित पार्टी मुख्यालयमा अध्यक्ष माधवकुमार नेपाल,उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव विजय पौडेल,सचिव जीवनराम श्रेष्ठलगायतका नेताहरुको उपस्थितिमा बिहान ९ बजेदेखि झन्डै डेढ घण्टा कार्यक्रम चलेको हो ।
यता,अधिकांश जिल्लामा गठबन्धनको सम्भावना टर्दै गएपछि बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताले छलफल गरेका थिए । प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच साँझ पौने पाँचदेखि आठ बजेसम्म छलफल भएको थियो । उहाँहरुवीचको छलफलले सहमति जुट्न नसकेका स्थानीय तहहरुमा चुनावी तालमेलका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको बताइएको थियो ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि उम्मेदवार टुंग्याउन हिजै सचिवालय बैठक बोलाएको थियो । बालकोटस्थित अध्यक्ष केपी ओली निवासमा भएको बैठकमा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल,अष्टलक्ष्मी शाक्य,रामबहादुर थापा,सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ,महासचिव शंकर पोखरेल,उपमहासचिव प्रदिप ज्ञवाली,बिष्णु रिमाल,पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरुको उपस्थिति थियो । साँझ ६ बजेदेखि राति नौ बजेसम्म चलेको बैठकले महानगर र उपमहानगरको उम्मेदवार ‘फाइनल’ गरेको थियो।
जसअनुसार काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयर र सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।
सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टी (जसपा)को नागार्जुन नगरपालिका निर्वाचन परिचालन समितिले हिजो उम्मेदवार घोषणा कार्यक्रम गरेको थियो । स्युचाटारस्थित परिकार पार्टी प्यालेसमा पूर्वप्रधानमन्त्री तथा संघीय परिषद अध्यक्ष डा. बाबुराम भटराई,सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ,नेतृ मानुषी यमि भट्टराईलगायतको उपस्थितिमा उम्मेदवार घोषणा कार्यक्रम गरिएको हो । कार्यक्रम बिहान ०८:५५ बाट साढे १० बजेसम्म भएको थियो ।
हिजो काँग्रेस महामन्त्री गगन थापाको उपस्थितिमा युवा भेलाको आयोजना गरिएको थियो । कपनस्थित रिभर साइन पार्टी प्यालेसमा सो कार्यक्रम भएको हो । त्यस्तै, काँग्रेसको स्थानीय पार्टी कमिटीले तारकेश्वर-५ स्थित लोलाङ हाइटमा चुनावी सभा तथा बृहत् सांकृतिक कार्यक्रम आयोजना गरेको थियो ।
मौलिक जरोकिलो पार्टीले रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गरेको थियो भने विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले नेवा: ताम्सालिङ प्रदेशको दोस्रो भेला आयोजना गरेको थियो । हिजो नै शाही युवाशक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पत्रकार सम्मेलन गरेर भीमफेदी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।
नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर कमिटीले गठबन्धनको केन्द्रीय संयन्त्रले गरेको सहमति अस्वीकार गर्ने निर्णय पनि हिजै गरेको हो । माओवादी केन्द्रका नेताहरुले पत्रकार सम्मेलन नै गरेर एक्लै चुनाव लड्ने घोषणा गरेका थिए । गोरखामा पनि गठबन्धन दलहरुबीच तालमेलको सहमति नभएपछि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय भएको छ ।
हिजो एकीकृत समाजवादीले पोखरा महानगरपालिका प्रमुखको उम्मेदवारमा धनराज आचार्य र हेटौंडाको प्रमुखमा मीना लामालाई उठाउने निर्णय गरेपछि नेपाली कांग्रेसका वडा सभापतिहरुले जिल्ला पार्टी कार्यालयमा नाराबाजी गरेका थिए । महानगरमा मेयर पद आफूहरुले पाउनुपर्ने त्यहाँका कांग्रेसीहरुले माग गर्दै आएका छन् । तर, गठबन्धनको निर्णयअनुसार पोखराको मेयर समाजवादीको भागमा परेको हो ।
पुन: अध्यक्ष दोहरिन चाहेका रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङले हिजो एमाले छोडेको घोषणा गरे। एमालेबाट टिकट नपाएपछि मन्थलीमा पत्रकार सम्मेलन गरी उनले एकीकृत समाजवादीमा लाग्ने निर्णय लिएका थिए । त्यस्तै,एमाले लुम्बिनी प्रदेश सदस्य तथा रूपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रीय इन्चार्ज बाबुलाल यादवले पनि एमाले त्यागेका छन् । हिजो भैरहवामा पत्रकार सम्मेलन गरी उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी एमाले छोडेको जानकारी गराए ।
टिप्पणीहरू