विप्लवले पनि ठाउँ ठाउँमा उठाए उम्मेदवार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले देशका यथासम्भव स्थानीय तहमा उम्मेदवारी दिने भएको छ । चुनाव उपयोगको नीतिलाई लिएर शीर्ष तहमै विवाद बढिरहेका बेला संस्थापन पक्ष निर्वाचनमा होमिएको हो ।
विप्लव समूहले आज विभिन्न ठाउँमा उम्मेदवारी दर्ता गराएको छ । भरतपुरको २५ नम्बर वडामा आजै उम्मेदवारी दर्ता गराएको सो समूहले भोलि भरतपुर महानगर र टाँडी नगरपालिकामा मेयरको उम्मेदवारी दर्ता गराउने तयारी छ ।
राष्ट्रिय राजनीतिमा समेत चर्चाको केन्द्रमा रहेको भरतपुरमा विप्लव समूहले दुर्गा सुवेदीलाई उठाउन लागेको हो । सुवेदीले भोलि उम्मेदवारी मनोनयन गर्ने तयारी छ । त्यस्तै, टाँडीमा मिनप्रसाद सापकोटाले उम्मेदवारी दिने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेको भरतपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट हालकी मेयर रेणु दाहाल दोहोरिने पक्का भैसकेको छ ।
प्रचण्डपुत्री रेणुलाई गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रले अघि सारेको हो । कमल थापाको राप्रपा नेपालसँग तालमेल गर्ने निर्णय गरेको एमालेले भरतपुरमा विजय सुवेदीलाई उम्मेदवार बनाएको छ ।
मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहाल र प्रतिपक्ष गठबन्धनका विजय सुवेदीबीच भिडन्त हुने आकलन गरिएका बेला माओवादीबाटै छुट्टिएर गएका विप्लवहरु पनि चुनावी मोर्चामा उत्रिने निश्चित भएसंगै भरतपुरमा प्रतिष्पर्धा थप रोचक हुने देखिएको छ ।
विप्लव समूहको तर्फबाट सिन्धुलीको मरिण गाउँपालिकामा दिनेश सारु मगर र सर्लाहीको बागमती गाउँपालिकामा कुमार पौडेलकी श्रीमतीले उम्मेदवारी दिने तयारी गरेका छन् । पौडेल विप्लव समूह प्रतिवन्धमा रहेका बेला प्रहरी कारवाहीमा मारिएका थिए ।
विप्लव समूहका एक नेताले आफ्नो पार्टीले अधिकांश स्थानीय तहमा उम्मेदवारी दिने दाबी गरेका छन् । कुनै पनि पार्टीसँग तालमेल नगरी आफ्नो शक्ति परीक्षण गर्न एक्लै चुनाव लड्ने उनले बताए ।
निर्वाचन आयोगमा दल दर्ता नभएकाले विप्लव समूहले उठाउने उम्मेदवारको हैसियत भने स्वतन्त्र हुनेछ ।
टिप्पणीहरू