चुनाव बहिष्कार भन्ने मोहन वैद्यले पनि उम्मेदवार उठाए

चुनाव बहिष्कार भन्ने मोहन वैद्यले पनि उम्मेदवार उठाए

चुनाव बहिष्कार गर्ने निर्णय गरेको मोहन बैद्य “किरण” नेतृत्वको क्रान्तिकारी माओवादीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गराएको छ । सो पार्टीले मकवानपुर र उदयपुरका केही स्थानीय तहमा आज उम्मेदवारी मनोनयन गरेको हो ।

वैद्य समूहले हेटौँडा उपमहानगरपालिकामा बबिता उप्रेतीलाई मेयरको उम्मेदवार बनाएको छ । उदयपुरको गाईघाट नगरपालिका पनि सो पार्टीका तर्फबाट उम्मेदवारी परेको छ । दुवै ठाउँमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले उनीहरुलाई सघाउने बताइएको छ ।

यता,चुनाव उपयोगको नीतिलाई लिएर शीर्ष तहमै विवाद चर्किरहेका बेला विप्लव समूहले पनि आफ्नो प्रभाव रहेको र राजनीतिक महत्वका केही स्थानीय तहमा उम्मेदवारी दिएको छ । सर्लाही,सिन्धुली,चितवन, रोल्पालगायतका जिल्लामा विप्लव समूहले उम्मेदवार उठाएको हो ।

सर्लाहीको बागमति गाउँपालिकामा प्रहरीद्वारा नक्कली इन्काउन्टरमा मारिएका कुमार पौडेलकी श्रीमती धनकुमारी खड्का पौडेल मेयरमा उठेकी छन् । पौडेल विप्लव समूह प्रतिवन्धमा प्रहेका बेला प्रहरी कारवाहीमा मारिएका थिए । चितवनको भरतपुर महानगरका केही वडामा पनि सो समूहका तर्फबाट उम्मेदवारी परेको छ ।

विप्लव समूहले सिन्धुलीका तीनवटा स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । हरिहरपुरगढी गाउँपालिकामा शशी राई,दुधौलीमा प्रभात दाहाल र मरिण गाउँपालिकामा दिनेश सारु मगरले मेयरमा उम्मेदवारी हालेका छन् । भरतपुर महानगरपालिकामा दुर्गा सुवेदी र टाँडी नगरपालिकामा मिनप्रसाद सापकोटाले भोलि मेयरमा उम्मेदवारी दिने तयारी छ ।

टिप्पणीहरू