गठबन्धनविरुद्ध काँग्रेसभित्रै विद्रोह,राजीनामा र बागी उम्मेदवारी

गठबन्धनविरुद्ध काँग्रेसभित्रै विद्रोह,राजीनामा र बागी उम्मेदवारी

आसन्न स्थानीय तह निर्वाचनका लागि आज र भोलि दुई दिन उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । चुनावी मैदानमा होमिएर जनप्रतिनिधि बन्ने आकांक्षा धेरैले बोकेका छन् । त्यसमा सबैभन्दा धेरै प्रमुख राजनीतिक दलका नेता तथा कार्यकर्तामा देखिएको छ ।

तर, अन्य दलसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रँदा नेपाली काँग्रेसभित्र विद्रोहको लहर देखिएको छ । पार्टीभित्र छलफल नगरी उम्मेदवार छनोट गरेको, आफ्नो भागमा राख्नुपर्ने सिट गठबन्धनसँग साटेकोलगायतका असन्तुष्टि काँग्रेसभित्र चुलिएको छ । फलस्वरुप कतै बागी उम्मेदवारी परेको छ भने केही स्थानमा नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका खबर पनि बाहिर आएका छन् ।

पोखरामा काँग्रेसका एक जनाले बागी उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनको विरोध गर्दै काँग्रेसको पोखरा १४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनले पार्टी नेतृत्वले रुखमा छाप लगाउने बाटोमा अवरोध पुर्याएको आरोप लगाउँदै पार्टीको सिन्डिकेट नमाने कारवाहीमा पर्नुपर्ने भएकाले पनि बागी उम्मेदवार दिएको बताएका छन् ।

यस्तै, टिकट वितरणमा असहमति जनाउँदै विभिन्न जिल्लाका क्षेत्रीय सभापतिहरुले राजीनामा दिएका छन् । रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले अस्ति राजिनामा दिएका थिए । लम्साललाई पछ्याउँदै आज काँग्रेसको रौतहट क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति रामस्नेही राय यादवले पार्टी परित्याग गर्ने तयारी गरेका छन् ।

गठबन्धनमा सहभागी भएको कारण जनाउँदै मुख्यतः काँग्रेसको कास्की, भरतपुर, रुपन्देही, रौतहट, गोर्खालगायतका जिल्लामा विवाद उत्पन्न भएको छ । भोलिसम्म यो असन्तुष्टि अन्य जिल्लामा पनि देखिने अवस्था बन्दै गएको छ ।

टिप्पणीहरू