सारी बाँड्ने वडाध्यक्षको ५ वर्षमा अकुत सम्पत्ति
हिजो शनिवार काठमाडौंको चन्द्रागिरी नगरपालिकाका एक जना वडाध्यक्षले उम्मेदवार मनोनयन गर्नु २४ घण्टाअगाडि बाँड्न खोजेको १ सय २० थान सारी निर्वाचन आयोगको निर्देशनमा प्रहरीले जफत गरेको छ । सरकारी कुर्सीमा जनप्रतिनिधिको हैसियतले सारी बाँडेर भोलि फेरि वडाध्यक्ष हुने आशमा त्यसो गरिएको हो ।
चन्द्रागिरीको ८ नम्बर वडाका वडाध्यक्षले त्यस्तो हर्कत किन गरे होलान् ? भनेर जनआस्थाले केही स्थानीयसँग बुझेको छ । तीमध्ये एक जनाले टेलिफोन सम्वादमा भने, ‘काठमाडौंबाट थानकोटतर्फ जाँदा सतुंगलबाट बाँया मोडिएर मातातीर्थ जाने बाटोमा चन्द्रागिरी ८ का तिनै वडाध्यक्षको मार्ट छ । वडाध्यक्ष विनोद बस्नेत हुन् । उक्त स्थानमा रहेको मार्टको साइज राजधानीका भाटभटेनी डिपार्टमेण्टल स्टोरको भन्दा पुग नपुग आधा छ ।’
अर्का एक जना स्थानीयले भने, ‘पछिल्लो पाँच वर्षमा उनले कमाएको आर्थिक हैसियतको उदाहरण हो त्यो । मार्ट मात्र खोलेका छैनन् उनले त्यहाँ, नजिकै १४ फिटको खोलोलाई छोपेर माथिल्लो भागमा पार्किङ बनाइएको छ । खोलोलाई पार्किङ बनाएर व्यवसाय चलाएका छन् ।’
नाम नबताउने शर्तमा वडा कार्यालयमा कार्यरत एक जना कर्मचारीले वडाध्यक्षले अस्पताल खोल्ने भनेर चन्दाको रसिद बनाई पाँच वर्षसम्म सर्वसाधारणलाई रसिद भिडाउने काम गरेको रहस्य खोलेका छन् । उक्त वडामा काम विशेषले जाने जो कोहीसँग चन्दा उठाइएको थियो । पाँच वर्षमा उनले करिब ७ करोड उठाएको अनुमान छ । तर ७० लाख मात्र देखाइएको वडाका सदस्यहरुले स्वीकारे ।
वडामा सामान्य सिफारिस लिनेदेखि ठूलै काममा जानेसँग गच्छेअनुसारको रकम लिएकाले उक्त रकम संकलन भएको हो । पैसा उठेपछि बस्नेतले रसिदको सबै अर्धकट्टी नजिकैको खोल्सोमा फालिदिने गरेको आरोप छ ।
त्यसैगरी अक्सिजन प्लाण्ट किन्ने भनेर उनले कुस्त कुम्ल्याएको बताउनेहरु पनि छन् । उनले अक्सिजन प्लाण्टको निम्ति व्यापारीसँग सामान लिएर पैसा नदिएको आरोप छ । सबै गरेर यो अवधिमा उनले २५ करोड रुपैयाँभन्दा बढीको घप्लाबाजी गरेको देखिन आउने उनीहरुको बुझाइ छ ।
वडाध्यक्षले विकास बजेटको रकम निकासामा पनि २० प्रतिशतको फर्मुला लगाएका थिए । २० प्रतिशत रकम दिने भनेपछि उनले रातारात बजेट उपलब्ध गराइदिन्थे । स्थानीयले बाटो बनाउने,धारा हाल्ने नाममा २० प्रतिशत रकम दिनेबित्तिक्कै बजेट उपलब्ध गराउँदा पनि राम्रै रकम संकलन भएको भुक्तभोगीहरु बताउँछन् ।
वडाध्यक्षले गरेका बदमासीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धेरै वटा उजुरी हालिए पनि सबै हिसाबकिताब मिलाएका छन् । बस्नेत निकटहरुका अनुसार कुरो मिलाउँदा करोडौं रुपैयाँ खर्च भएको छ । तर, उक्त आरोप सम्बन्धमा अख्तियारले औपचारिक प्रतिक्रिया जनाएको छैन ।
यी सबै कर्तुत राजधानी काठमाडौं नजिकैको नगरपालिकाको एउटा वडाध्यक्षको वास्तविकता हो । मुलुकको दुर्गम भेगमा रहेका स्थानीय तहका जनप्रतिनिधिले मच्चाएको ब्रम्हलुटको बारेमा कसैले सोधखोज गर्न सक्ने अवस्था देखिँदैन ।
टिप्पणीहरू