रुकुममा बाजागाजासहित कस्सियो काङ्ग्रेस
रुकुम (पूर्व) को सिस्ने गाउँपालिकामा नेपाली कांग्रेसले मनोनयन दर्ता गरेको छ । वैशाख ३० हुने स्थानीय तह चुनावमा अध्यक्ष पदको लागि दत्तबहादुर बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ । उहाँले आज बाजागाजासहित निर्वाचनको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले पुथाउत्तरगंगा गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार टुङ्ग्याइसकेको छ । तर मनोनयन भने भोलि दर्ता गराउने नेपाली कांग्रेस जिल्ला सभापति केशरमान रोकाले जानकारी दिनुभयो । उहाँकाअनुसार त्यहाँ पालिका अध्यक्षको उम्मेदवार तेजेन्द्र खामलाई टुङ्ग्याइएको छ । उपाध्यक्षको भने टुङ्गो लागिनसकेको सभापति रोकाले बताउनुभयो । उपाध्यक्ष पदको लागि कर्मचिज पुन र कमला मल्लको दावी रहेको छ । दुवैले अडान नछोडेपछि भोलिसम्ममा सहमतिबाट उपाध्यक्षको टुङ्गो लगाउने र मनोनयन दर्ता गरिने सभापति रोकाको भनाई छ ।
यस्तै भूमे गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर ९ को अध्यक्षको लागि मनोनयन दर्ता भएको छ । वडाध्यक्षको लागि ९ बाट समिर पुनले उम्मेदवारी दर्ता गराउनुभएको हो । पालिका अध्यक्ष र उपाध्यक्षको भने अझै टुङ्गो नलागेको नेपाली कांग्रेस जिल्ला उपसभापति भीमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँकाअनुसार पालिका अध्यक्षमा भीमबहादुर ओली र नरेश बुढाको दाबी छ । उपाध्यक्षमा कमला खड्काको दावी छ । अध्यक्ष पदको उम्मेदवारी छलफलबाट टुङ्ग्याउने प्रसास भइरहेको छ भने नेकपा एमालेसँग तालमेलको कुरा पनि चलिरहेको उपसभापति खड्काले बताउनुभयो ।
उम्मेदवार सँगसँगै एमालेसँगको सहकार्यको टुङ्गो भोलि लाग्ने र मनोनय दर्ता पनि भोलि नै गर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुकुम(पूर्व) ले जानकारी दिएको छ । अन्य वडाको पनि कतिपय ठाउँमा उम्मेदवारी टुङ्गो लागिनसकेकाले छलफल चलिरहेको बताइएको छ ।
टिप्पणीहरू