७ वर्षअघिको त्यो भयावह मध्यान्ह
नेपालमा महाभूकम्प गएको आज सात वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । बिहान ११ बजेर ५६ मीनेटमा गएको उक्त भुईंचालोका कारण मुलुकभर आठ हजार नौ सय ६४ जनाले ज्यान गुमाएका थिए ।
काठमाडौं उपत्यकासहित गोरखा, धादिङ,नुवाकोट,काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक,रामेछाप, दोलखालगायतका जिल्लामा सर्वाधिक जनधनको क्षति भएको सात वर्ष अघिको त्यो दिनलाई सर्वसाधारणले अझै कालो दिनका रुपमा लिन्छन् ।
राजधानी काठमाडौं उपत्यका एक मीनेटको अन्तरालमा भग्नावशेषमा परिणत भएको थियो । यहाँका काठमाडौँ,पाटन र भक्तपुर दरबार क्षेत्र,चाँगुनारायण मन्दिर, बौद्धनाथ र स्वयम्भूनाथ स्तूपा वरिपरिका सम्पदाहरु ध्वस्त भएका थिए । अन्यत्रका पनि त्यस्तै भएका हुन् ।
हजारौं परिवारले आफ्नो घरबार गुमाएर खुल्ला चौरमुनि त्रिपालको भरमा महिनौं रात कटाएको त्यो दिन अझै पनि मानसपटलमा ताजा छ । उक्त भूकम्पले मुलुकमा पुर्याएको गहिरो चोट पूर्णरुपमा निको भइसकेको छैन् ।
भौतिक पूर्वाधारहरु उठ्ने क्रममा छन् । गत पुससम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले क्षतविक्षत बनाएका संरचनाको जिम्मा लिए पनि अहिले शहरी विकास प्राधिकरणलाई उक्त जिम्मेवारी पन्छाइएको छ ।
महाभूकम्पले भत्काएका सम्पदामध्ये कतिपय अझै निर्माणाधीन अवस्थामा छन् । सिंहदरबार, राणाकालीन अन्य दरबार, धरहरालगायतका संरचना सरकारी योजनाबाट बन्दै गरेको केन्द्रीय आयोजना कार्यालय इकाइ (भवन तथा आवास) का आयोजना निर्देशक पोषनाथ अधिकारीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अहिले भारतीय अनुदानअन्तर्गत पुरातत्व विभागले २४ वटा सम्पदाको निर्माण कार्यलाई जारी राखेको छ ।
शहरी विकास प्राधिकरणबाट आफूहरुसम्म जिम्मेवारी हस्तान्तरण भई आउँदा आठ लाख ६६ हजार दुई सय सात जना लाभग्राही भएको बताउँदै हालसम्म उक्त संख्यामा बृध्दि भएर आठ लाख ६८ हजार एक सय ४० पुगेको छ ।
त्यस्तै,पहिलो चरणको अनुदान सम्झौता आठ लाख २९ हजार छ सय ८७ रहेकोमा हाल आठ लाख ३२ हजार ७८ पुगेको छ ।
दोस्रो चरणमा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७८ हजार तीन सय चार परिवारको आवास सम्पन्न गरिसकेको थियो । पछि शहरी विकास प्राधिकरणबाट थप भएका जोडेर ७० हजार सात सय छ पुगेको छ ।
यता, तेस्रो चरणमा ४७ हजार एक सय ५२ जना लाभग्राही पाए पनि प्राधिकरणले उक्त संख्या घटाएर २१ हजार पाँच सय ८१ मा झारेको आयोजना निर्देशक अधिकारीले जानकारी दिनुभयो ।
उहाँले पुनर्निर्माण गर्दा कूल सम्बोधन हुनुपर्ने एक लाख ५८ हजार चार सय ४८ लाभग्राही भए पनि एक लाख २४ हजार ११ जना घटिसकेको उल्लेख गर्नुभयो ।
अब शहरी विकास प्राधिकरणले पुनर्निर्माणको निम्ति कसैलाई कुरेर नबस्ने भनेको छ । भूकम्पबाट विस्थापित चार सय २२ र पुनरावेदनमा परेका मुद्दाको मात्र सम्बोधन गरिने जानकारी पनि प्राप्त भएको छ ।
टिप्पणीहरू