चुनाव लाग्दा मधेशमा जे देखियो
सत्ताधारी पाँच दलले आसन्न स्थानीय निर्वाचनको निम्ति गठबन्धन गरे पनि त्यो बालुवाटारमा मात्रै प्रभावकारी देखिएको छ । मधेसका अधिकांश जिल्ला र पालिकामा गठबन्धनको हालत मजबुत छैन ।
मधेश प्रदेशमा गठबन्धन प्रभावहीन हुनुमा त्यहिँभित्रका दलहरुको क्रियाकलाप जिम्मेवार रहेको बताइन्छ । विराटनगरमा जसपाबाटै गठबन्धनले सहमत गरेका उम्मेदवारविरुद्ध उठ्ने काम भएको छ,जुन एक किसिमले विद्रोह नै भएको एकथरिको बुझाइ छ । विराटनगरमा हाल जसपामा रहेका उमेश यादवले अघिल्ला निर्वाचनमा तेस्रो स्थान बनाएका थिए ।
त्यसैले जसपाले पछिल्लो समयसम्म मैत्रीपूर्ण प्रतिस्पर्धामा जाने अडान लिएको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका जिल्लामा गएर गठबन्धनको कुरो गरेका कारण यसबीच धेरै जनाले पार्टी परित्याग गरेका समाचार आएका छन् । सिरहा,सप्तरीतिर पनि गठबन्धन खासै प्रभावकारी भएको देखिँदैन ।
भित्री मधेशको कुरो गर्ने हो भने उदयपुरमा पनि त्यस्तै देखिएको बताइन्छ । तराई र मधेशका जिल्लामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन मान्न तयार देखिँदैनन् ।
पार्टी निर्देशन अवज्ञा गरेको कारण जनाउँदै काँग्रेसले अनुशासनको कारवाही गरेमा कार्यकर्ताले मधेश प्रदेशमा अस्तित्वको लागि विद्रोह गर्ने योजना बनाएको स्रोतले बताएको छ । अनुशासनको नाममा गरिने कारवाहीलाई सहेर बस्ने अवस्था नभएकाले त्यस्तोमा काँग्रेसलाई ठूलो घाटा हुने जोडघटाउ गरिएको हो ।
तुलनात्मक रुपमा मधेशमा यस पटक एमालेभित्र त्यति ठूलो समस्या नदेखिएको मधेशका राजनीतिक विश्लेषकहरु बताउँछन् । कतिपय अवस्थामा स्थानीय नेता तथा कार्यकर्ताको भावना प्रतिकूलका मानिसलाई पालिकाको टिकट दिइए पनि एमालेमा अन्य पार्टीमा झैँ विद्रोह देखिएको छैन । विशेषगरी सप्तरीका एकाध ठाउँमा एमालेमा पनि समस्या देखिएको छ । अन्यत्र खासै समस्या नभएको रिपोर्टिङ गरिएको छ ।
टिप्पणीहरू