गाईपूजा गर्न गृहमन्त्री गृहनगरमा
गृहमन्त्री बालकृष्ण खाँणले आज गाईपूजा गर्नुभएको छ । गृहजिल्ला रुपन्देही पुग्नुभएका उहाँले गौमाताको पूजा गर्नुभएको हो ।
तिलोत्तमा नगरपालिका ८ मा रहेको तिलोत्तमा गौशालामा मन्त्री खाँणले हिन्दुधर्म र परम्पराअनुसार पूजा गर्नुभएको हो । आज बिहान उहाँले गाईपूजा गर्नुभएको काँग्रेस तिलोत्तमाले जनाएको छ ।
मन्त्री खाँणले गाईलाई पूजा गर्दै गरेका फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमा पनि हालिएका छन् । पूजामा काँग्रेस तिलोत्तमाका पदाधिकारीहरुको पनि सहभागिता थियो ।
हिन्दु धर्ममा आमा समान मानिने गाईलाई लक्ष्मीकारुपमा पूजा गर्ने प्रचलन छ । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मन्त्री खाँण गृहजिल्ला पुगेको अनुमान गरिएको छ ।
नेपाली काँग्रेस तिलोत्तमा नगरपालिकाले मन्त्री खाँणका भाई रामकृष्ण खाँणलाई मेयर पदमा उठाएको छ । यता, सिद्धार्थनगरमा मेयरको टिकट नवप्रवेशीलाई दिएको भन्दै मन्त्री उनका भाइमाथि अनकौं आरोप लागेका छन् ।
बिहान गाईलाई पूजा गरेपछि मन्त्री खाँण आजै काठमाडौं फर्केको गृहमन्त्रालय स्रोतले बताएको छ ।
टिप्पणीहरू