ओलीका निम्ति कोमल वरै, करिश्मा पराइ
एमालेको हिजो बसेको सचिवालय बैठकले आज निर्वाचन आयोगमा बुझाइने समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाउने सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । १९ सदस्यीय पदाधिकारीमध्ये १७ जनाले एक स्वरमा अधिकार दिने उक्त प्रस्तावप्रति समर्थन जनाएका थिए।
जबकी हिजो बैठकमा सुनाइएका नामहरू अधिकांश पटक–पटक अवसर पाइसकेका पात्र हुन् । यसले पार्टीभित्र ‘नयाँ अनुहार र योगदानको मूल्याङ्कन’ भन्ने बहसलाई झन् कमजोर बनाएको छ । बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पटक–पटक अवसर पाइसकेकालाई नदोहोर्याउन गरेको आग्रहलाई अध्यक्षले सुनेको नसुन्यै गरिदिएका छन् ।
पहिले राष्ट्रिय सभा,त्यसपछि समानुपातिक र गत निर्वाचनमा प्रत्यक्ष चुनाव भिडेर हारेकालाई समेत दोहोर्याउनुको औचित्यमाथि प्रश्न उठाइएको छ । प्रत्यक्ष चुनाव लडेर पराजित भइसकेकालाई पुनः समानुपातिक सूचीमार्फत संसद्मा पुर्याउने अभ्यासले पार्टीभित्र अवसरको न्यायोचित वितरण नभएको सन्देश फेरि बाहिरिएको छ । कोमल वलीलाई त्यसको उदाहरण मानिएको छ । तर कुनै समय ‘सूर्यकुमारी’ भनेर चिनिएकी करिष्मा मानन्धरलाई भने अध्यक्षले पूर्ण रूपमा बेवास्ता गरेको अवस्था छ ।
"कोमल वलीलाई त्यसको उदाहरण मानिएको छ । तर कुनै समय ‘सूर्यकुमारी’ भनेर चिनिएकी करिष्मा मानन्धरलाई भने अध्यक्षले पूर्ण रूपमा बेवास्ता गरेको अवस्था छ । "
हिजो वाचन गरिएका नाममा शान्ता चौधरी,तेह्रथुमकी विष्णुमाया बिकहरु छन् । चौधरी र बिक यसअघि पनि समानुपातिक सांसद थिए । यसरी अवसर पाइरहनेमा मोरङका गुरु बराल झन अगाडि देखिन्छन् ।
चुनाव कहिल्यै नजितेका बरालले अवसर भने निरन्तर पाउँदै आएका छन् । उनलाई हालैको महाधिवेशनमा उपाध्यक्ष उठाइएको थियो भने यसअघि राष्ट्रिय सभाको निर्वाचनमा अवसर दिइयो । प्रत्यक्षमा सँधै पराजित हुने बराललाई यसअघि माओवादीसँग सहमति गराएर राष्ट्रपति बनाउनेसम्म तयारी थियोे ।
सुवास नेम्वाङजस्ता सर्वस्वीकृत नेता हुँदाहुँदै राष्ट्रपतिमा बराललाई अघि सार्नु मनपरिको पराकाष्ठा थियो ।
आज बुझाइने समानुपातिक सूचीमा पूर्व वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षमा प्रतिस्पर्धी ईश्वर पोखरेलको नाम पर्ने सम्भावना भने अत्यन्त न्यून रहेको बताइन्छ । हिजोको बैठकमा उपाध्यक्ष रघुजी पन्तले यसबारे पोखरेललाई बोलाएर सल्लाह गर्न अध्यक्षलाई सुझाव दिएका थिए । उनको तर्क थियो ‘यसले पार्टी एकताको सन्देश जान्छ ।’
उपस्थित अधिकांशले अध्यक्षको प्रस्तावलाई मुन्टो हल्लाएर सहमति जनाए । उम्मेदवारको सूचीबारे ठोस बहस वा निर्णय नगरी सबै जिम्मा अध्यक्षलाई दिइयो ।
टिप्पणीहरू