पूर्वमन्त्रीदेखि उच्च ओहोदाका अधिकारीहरु सँधै हवाइजहाजमा
राजनीतिक दलका नेता,मन्त्री, पूर्वमन्त्री तथा उच्च ओहोदाका सरकारी अधिकारीहरु हिजो पनि हवाई उडानमा काठमाडौंबाट बाहिर र बाहिरबाट राजधानी ओहोरदोहर गरेका छन् । पछिल्ला दिनमा उक्त गतिविधि केही बढेको छ ।
हिजो बिहान सबेरै पौने ७ बजे बुद्ध एयरको उडानमा पूर्वमन्त्री तथा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ काठमाडौंबाट धनगढी पुग्नुभएको छ । हिजै बुद्ध एयरको उडानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेल बिहान ७ बजे काठमाडौंबाट नेपालगन्ज जानुभएको छ ।
बुद्ध एअरको बिहान सवा ७ बजेको काठमाडौं–भरतपुर उडानमा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड चितवन जानुभयो । उहाँ हिजै साँझ ५ बजे काठमाडौं आउनुभएको थियो ।
हिजै बुद्ध एअरको उडानमा बिहान साढे ११ बजे गृहमन्त्री बालकृष्ण खाँण भैरहवाबाट काठमाडौं आउनुभयो । उहाँ गृह नगरमा गौपूजा गरेर फर्किनुभएको हो । पूर्वमन्त्री सुनिलबहादुर थापा यती एअरको हिजो बिहान साढे ११ बजेको उडानमा बिराटनगरबाट काठमाडौं आउनुभयो भने बुद्ध एयरको उडानमा दिउँसो साढे १ बजे उद्योग मन्त्रालयका सचिव गोपीकृष्ण न्यौपाने काठमार्डौंबाट राजविराज जानुभयो ।
हिजो मध्यान्ह १२ बजे नेपाली सेनाको स्काइ ट्रक एनए ०४१ मा १४ जना सैनिक राजधानीबाट सुर्खेत गएको छ । सहायक रथी सुशीलकुमार भण्डारीको नेतृत्वमा त्यसतर्फ गएको टोलीसँगै कार्गो चार सय ५० किलोग्राम पनि त्यता लगिएको छ ।
हिजो बिहान साढे ९ बजे कतार एअरवेजको उडानमा दोहा हुँदै फ्रान्सेली सेनाका जर्नेल अगुस्तो फेब्रिस काठमाडौं ओर्लिनुभएको विमानस्थल स्रोतले बताएको छ । पूर्व उपप्रधानमन्त्री तथा काँग्रेस नेता गोपालमान श्रेष्ठ बुद्ध एअरको दिउँसो पौने २ बजेको उडानमा पोखराबाट काठमाडौं आउनुएको छ ।
बुद्ध एअरकै उडानमा हिजो दिउँसो सवा २ बजे सिमराबाट खानेपानीमन्त्री उमाकान्त चौधरी राजधानी आउनुभएको छ । यती एअरको उडानमा प्रदेश नम्बर १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बो दिउँसो पौने ४ बजे काठमाडौंबाट विराटनगर जानुभयो भने पूर्वमन्त्री तथा काँग्रेस नेता कृष्णप्रसाद सिटौला साँझ पौने ७ बजे श्री एअरको उडानमा राजधानीबाट भद्रपुर पुग्नुभएको छ ।
टिप्पणीहरू