बागी झिक्न बालुवाटारबाट कडा निर्देशन
सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकले देशभरका बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले महानगरसहित विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरुद्ध गठबन्धन दलबाटै परेका बागी झिक्न कडा निर्देशन दिएको हो ।
गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ ।
त्यस्तै, गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँडको समझदारी गर्ने निर्णयसमेत गरेको छ । गठबन्धन दलहरूका बीचमा सिट बाँडफाँडको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरू आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको एक नेताले बताए । त्यसका लागि स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिनेछ ।
गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको उपस्थिति रहेको थियो ।

टिप्पणीहरू