भक्तपुरका गुरुहरु एमाले नेता महेश बस्नेतमाथि खनिए
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले कलेजमा अध्यापन गर्ने शिक्षकहरु अयोग्य रहेको भन्दै दिएको अभिव्यक्तिप्रति भक्तपुरका प्राध्यापकहरूले आपत्ति जनाएका छन् । उनीहरुले कुनै पनि शैक्षिक संस्थाबारे दुष्प्रचार नगर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा जथाभावी नबोल्न र कपोलकल्पित भ्रम नछर्न बस्नेतलाई सुझाएका हुन् ।
आज भक्तपुरको ख्वप मावि,ख्वप कलेज र शारदा क्याम्पस देकोचाको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनीहरुले बस्नेतलाई मुख सम्हालेर बोल्न आग्रह गरेका छन् ।
केही दिनअघि भक्तपुरमा आयोजित एक कार्यक्रममा बस्नेतले कलेजमा अध्यापन गर्ने शिक्षकहरू अयोग्य रहेको अभिव्यक्ति दिएका थिए । उनले विभिन्न कलेजको नामै किटेर कुन कानुनअन्तर्गत सञ्चालित हो ? भनी प्रश्नसमेत गरेका थिए । सरकार बलियो भएको भए त्यस्ता कलेज बन्द गराउनसक्ने बताउँदै बस्नेतले कलेजका विद्यार्थीको सर्टिफिकेटसमेत नक्कली भएको दाबी गरेको भिडियो भाइरल भएको थियो ।
“अयोग्य शिक्षक,शिक्षिकाले पढाएका विद्यार्थीहरु पटकपटक कसरी त्रिभुवन विश्वविद्यालयमा टपर भए ?”
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले आफूले महेश बस्नेतद्वारा लेखिएको भनिएको ‘महेशको म’ नामक पुस्तक अध्ययन गरेको तर त्यसमा लेखकले ‘बहसमा झुठो कुरोलाई पनि सत्य बनाउनुपर्ने’ भनेर लेखिएको कुरा आफूलाई मन नपरेको उल्लेख गरेका छन् । सोही कारण बस्नेतले आफ्नो राजनीति टिकाउनैको निम्ति कलेजबारे झुठो बोलेको हुनसक्ने भन्दै व्यंग्य गरेका थिए ।
बस्नेत पदीय हिसाबले उच्च स्थानमा पुगे पनि उनको बौध्दिकता भने फिटिक्कै नभएकोमा गुरुहरुले दुःख व्यक्त गरेका छन् ।

टिप्पणीहरू