समाज परिवर्तनको बेजोड नमूनाः मधेशी युवा र पहाडी दलित युवतीको मागी बिबाह
आषिका लम्साल
अन्तरसमुदाय र दलित तथा गैरदलितबीचको बिबााहलाई नेपाली समाजले अझै पूर्णरुपमा पचाउन सकेको छैन । अन्तरसमुदाय र अन्तरजातीय विवाह गर्ने जोडीलाई घर परिवार र समाजबाट बहिष्कार गर्नेदेखि विभिन्न बहानामा छुट्याउने गरिएको छ । कानुनले दण्डनीय भने पनि मधेशी समुदायमा दहेज (दाइजो) प्रथा अझै उन्मूलन हुन सकेको छैन । भित्रभित्रै र नयाँ स्वरुपमा दहेजको प्रचलन झन् बढ्दो देखिन्छ ।
तर मोरङका मधेशी समुदायका एक जना गैरदलित युवा र पहाडी दलित समुदायकी एउटी युवतीबीच दाइजोरहित र बिनाविभेद परिवारकै सहमतिमा झ्याँई झ्याँई बाजा बजाएर धार्मिक परम्पराअनुसार भव्य रुपमा मागी विवाह सम्पन्न भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका २, सुगा बजारका राजेन्द्रप्रसाद र प्रमिलादेवी साहका जेठा छोरा २७ वर्षीय वीरेन्द्र साह र सोही नगरपालिका ३ नम्बर वडाका रत्न दर्नाल र कल्पनादेवी दर्नाल (परियार) की जेठी छोरी २५ वर्षीया सम्झना दर्नालको अस्ति झ्याँई झ्याँई बाजा बनाएर धार्मिक परम्पराअनुसार भव्य रुपमा मागी विवाह सम्पन्न भएको हो ।
बेहुला र बेहुली दुवै परिवारको सहमतिमा पण्डितले जुराएको साइतअनुसार अस्ति वीरेन्द्र र सम्झनाको विवाह लगन तय भएको थियो । उक्त लगनमा बिबाह गर्न बेहुला वीरेन्द्रसँगै उनका बुबा राजेन्द्र र परिवारका सदस्यहरु गाउँले र अतिथिहरुसँगै ठाँटिएर सम्झनालाई लिन जन्ती बनेर रमाउदै पुगेका थिए ।

आधुनिक बाजागाजासहित नाच्दै र गाउँदै आएका जन्तीलाई सम्झनाका बाबुआमा, आफन्त र गाउँलेले हर्षोल्लास र रितपूर्वक भव्य स्वागत गरेका थिए ।
दुवैको हिन्दु वैवाहिक विधिअनुसार जग्गेमा पण्डितले बिबाह सम्पन्न गराएका थिए । त्यसपछि बेहुला वीरेन्द्र र उनका आफन्तले हर्षोल्लाससहित सिँगारपटारले चिटिक्क सजिएकी बेहुली सम्झनालाई रितपूर्वक घर भित्र्याएका थिए । बेहुली घर भित्र्याएका वीरेन्द्रले हिजो दिउँसो आफना साथीभाइ, आफन्त र शुभेच्छुकहरुलाई प्रितिभोजको आयोजना गरे ।

दाईजो र विभेदरहित जोडीलाई शुभकामना दिएर प्रतिभोजमा उपस्थित भएका पाहुनाको भीड हिजो अबेरसम्म बेहुलाको घरमा देखिएको थियो । ‘हामीले समाजमा परिवर्तन आफैंबाट शुरु गर्नुपर्छ भनेर परिवारलाई सहमति गराएर केही वर्षदेखिको प्रेमलाई मागी विवाहमा परिणत गराएका हौं,’ बेहुला वीरेन्द्र र बेहुली सम्झनाले भने ।
बेहुलाका बुबा राजेन्द्रप्रसादले समाजमा अझै दाइजो र जातभात भन्दै जातीय विभेदको कुरा गर्नु अमानवीय व्यवहार भएकाले आफूहरुले जेठा छोराको सामाजिक अन्तर्घुलन र अन्तरसमुदायमा दाइजोरहित मागी अन्तरजातीय बिबाह धुमधामले गरेको बताए । सम्झनाका बाबु रत्न र आमा कल्पनाले पनि अन्तरसमुदाय र अन्तरजातीय भए पनि धुमधामले बिबाह गरेर छोरीलाई बिदा गर्न पाउँदा आफूहरु हर्षित भएको उल्लेख गरेका छन् ।

बेहुला वीरेन्द्र पत्रकारिता र कलाकारितासँगै समाजसेवामा पनि सक्रिय छन् । बेहुली सम्झनाले भने व्यवस्थापन विषयमा स्नातक अध्ययन गरेकी छन् । सम्झनाका बाबुआमा निर्वाहमुखी कृषक हुन् । वीरेन्द्रका बाबु स्थानीय साना व्यापारी हुन् ।


टिप्पणीहरू