छोरी र श्रीमती भनेर महिला उम्मेदवारको अवमूल्यन गरियो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई छोरी र श्रीमतीका रुपमा कुप्रचार गरेर महिलाको अवमूल्यन गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
पाँच दलीय गठबन्धनले आज काठमाडौँमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उहाँले महिला उम्मेदवारमाथि कसैकी छोरी र श्रीमती भनेर केही व्यक्तिले कुप्रचार गरेको बताउनुभएको हो ।
‘कसैलाई छोरीको रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको क्षमताको अवमूल्यन गर्ने कोशिस एकथरी मानिसहरुले गरेका छन्,’ अध्यक्ष प्रचण्डले भनुभयो, ‘म त्यो प्रवृत्तिको हृदयदेखि विरोध गर्न चाहन्छु ।’
वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष प्रचण्डको छोरी रेणु दाहाल र काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नेता प्रकाश मान सिंहकी श्रीमती सिर्जना सिंहले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।
उनीहरुको उम्मेदवारीलाई लिएर आलोचना भइरहेका बेला प्रचण्डले आज त्यसको विरोध गर्नुभएको हो ।
‘हिजो युद्धको बेलामा, शान्तिको बेलामा, संविधान निर्माणको बेलामा महिलालाई कसरी राष्ट्रको पक्षमा सदुपयोग गर्ने भनेर संविधानमा एउटा मूलभूत व्यवस्था गरिएको थियो, तर व्यवहारमा लागू गर्ने क्रममा कहिँ न कहिँ चुकिरहेका थियौं । अहिले यो प्रक्रिया अघि बढेको छ । म खुशी व्यक्त गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।
काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई विजयी गराउनु भनेको साँच्चै परिवर्तनलाई विजयी गराउनु रहेको पनि प्रचण्डको भनाइ छ । ‘अहिले जहाँ जहाँ महिला कार्यकारी भूमिकामा छन् त्यहाँ राम्रो काम भएको छ । महिलाहरुमाथि विश्वास गर्नुपर्ने देशकै आवश्यकता हो,’ उहाँले भन्नुभयो ।
टिप्पणीहरू