ओलीले आफूजस्तै ‘हावादारी’ मान्छे खोजेर टिकट दिएका छन् : बानियाँ

ओलीले आफूजस्तै ‘हावादारी’ मान्छे खोजेर टिकट दिएका छन् : बानियाँ

नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले नेकपा एमालेबाट काठमाडौँ महानगरमा मेयरको उम्मेदवारी दिएका केशव स्थापितलाई अनुशासनहीनको आरोप लगाएका छन् । हावादारी कुरा गर्ने र महिलाको सम्मान गर्न नसक्ने स्थापितलाई टिकट दिएर एमालेले जनताको अपमान गरेको उनले आरोप लगाए ।

आज काठमाडौँमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले केपी ओलीले आफूजस्तै हावादारी मान्छे खोजेर उम्मेदवार बनाएको पनि टिप्पणी गरे ।

नेकपा एमालेबाट उपमेयरको उम्मेदवारका रुपमा अगाडि सारिएकी सुनिता डंंगोलमाथि पनि सभापति बानियाँले कटाक्ष गरे । ‘कलेज पढ्नेलाई होइन, नलेज हुनेलाई जिताउने हो । एमालेले भर्खरको कलेज पढ्नेलाई टिकट दिएको छ,’ उनले भने ।

बानियाँले काँग्रेस कार्यकर्ताले गठबन्धनको विरोध गर्नु भनेको एमालेलाई सघाउनुसरह हुने पनि बताए । ‘कतिपय साथीहरूले विद्रोह गरेँ भन्नुभएको छ । उहाँले त एमालेलाई सहयोग गरेको हो । हाम्रा उम्मेदवारलाई जिताएर अघि बढ्नुको विकल्प छैन्,’ उनले भने ।

टिप्पणीहरू