राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा पाएको राजधानीको एउटा बिबाह (भिडियोसहित)
गत साता राजधानीमा भएको एउटा बिबाहले निकै चर्चा पायो । उक्त चर्चा दुलाहा र दुलहीको कारणले भन्दा पनि बिबाहको निम्तो मान्न आएका पाहुनाको कारण थियो ।
भारतीय राष्ट्रिय काँग्रेस आईका पूर्वअध्यक्ष तथा काँग्रेस नेता राहुल गान्धीको उपस्थितिका कारण उक्त बिबाहले धेरै चर्चा पाएको हो । बिबाहकी बेहुली सुम्निमा उदास थिइन् । उनी म्यानमारका लागि पूर्वनेपाली राजदूत भीम उदासकी छोरी हुन् ।
सुम्निमा यसअघि नयाँ दिल्लीस्थित सीएनएनकी संवाददाता थिइन् । उनी त्यहाँ रहँदा गान्धीसँग उनको निकै घनिष्ठ सम्बन्ध थियो । घनिष्ठ साथीको बिबाहको निम्तो मान्न राहुल गत सोमबार काठमाडौं आएर बिहीबार स्वदेश फर्केका हुन् ।
उनी काठमाडौंमा रहँदा राजधानी बाहिरका मुक्तिनाथ, रारा र सोलुखुम्बु जाने भनिए पनि काठमाडौंबाट बाहिर गएको देखिएन । बरु काठमाडौं आएकै दिन राति ठमेलको एउटा नाइटक्लबमा गएको समाचारले नयाँ दिल्ली र पूर भारतमा पक्ष र विपक्षमा समाचार बन्यो ।
त्यसको भोलिपल्ट राति उनी ललितपुरको लाँकुरी भञ्ज्याङस्थित एउटा रेसोर्टमा बास बस्न पुगे । त्यो दिन ललितपुरको मानभवनमा सुम्निमाको हिन्दु परम्पराअनुसार बिबाह भएको थियो ।
भोलिपल्ट बेहुलाको तर्फबाट शेर्पा परम्पराअनुसार बिबाह भएको हो । सुम्निमाको बिबाह शेर्पा युवकसँग भएको हो ।
ती दुवै समारोहमा भारतीय पाहुना राहुल गान्धीको उपस्थिति थियो ।
टिप्पणीहरू