केन्या घोषणापत्र पारित गर्दै सकियो विश्व प्रेस काउन्सिलको बैठक

केन्या घोषणापत्र पारित गर्दै सकियो विश्व प्रेस काउन्सिलको बैठक

केन्याको राजधानी नैरोबीमा भएको विश्व प्रेस काउन्सिलको कार्यकारी परिषद्को बैठक केन्या घोषणापत्र पारित गर्दै सकिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा मे ३ तारिखका दिनदेखि आयोजित बैठक विभिन्न कार्यक्रमका साथ हिजो सम्पन्न भएको हो । चार दिनसम्म भएको बैठकले सर्वसम्मत पारित गरेको घोषणापत्रमा कोरोना महामारीका कारण यसअघि एक वर्ष म्याद बढाइएको कार्यकारी परिषद्को कार्यकाललाई बैठकले अनुमोदन गरेको र महामारीलाई ध्यानमा राखेर अर्को दुई वर्ष बढाइएको छ ।

बैठकको समापनमा परिषद्ले महामारीको अन्त्य भइरहेकोजस्तो अवस्था देखिए पनि सञ्चारमाध्यमहरुको निरन्तरको पीडाप्रति आफ्नो चिन्ता र ऐक्यबद्धता जनाउँदै विश्वका सबै मुलुकका सरकार र त्यहाँका प्रेस काउन्सिललाई महामारीको अन्त्य भए पनि सञ्चारमाध्यमले दुःख र कष्ट भोग्न नपर्ने सुनिश्चितताको लागि आग्रह गरेको छ ।

त्यसैगरी बैठकले युद्ध र द्वन्द्व कायमा रहेका मुलुकमा विशेष गरी विश्वभर भइरहेको पत्रकारहरूको हत्या र आक्रमणको निन्दा समेत गरेको छ । परिषद्का सदस्यहरुले प्रेस स्वतन्त्रता र मिडियाको स्तरोन्नतीमा ऐक्यबद्धता जनाउँदै सदस्यहरूले विश्व प्रेस काउन्सिललाई थप सुदृढ पार्न र संस्थाको डिजिटल उपस्थितिलाई व्यापक पार्ने संकल्प गरेका छन् ।

बैठकले सबैभन्दा महत्वपूर्ण कुराको रुपमा विश्व प्रेस काउन्सिलले सोसल मिडिया र अन्य डिजिटल प्लेटफर्महरूमा भइरहेका नक्कली समाचार र गलत जानकारीको अनियन्त्रित प्रसारप्रति चिन्ता व्यक्त गरेको छ । गलत मनसाय भएका ब्लगरहरूहरूले डिजिटल प्लेटफर्महरूमा सर्वसाधारणको अज्ञानताको फाइदा लिँदै कुनै पनि खालका उत्तरदायित्व वा कानुनी प्रभाव बिना झूठा सूचना प्रवाह गरेको विषयमा बैठकका सदस्यहरु एकमत भएका हुन् ।

त्यस्ता नक्कली समाचारले लाखौंको जीवनलाई खतरामा पारेको, समाजमा घृणा फैलाउन मद्धत पुर्याएको र यसले युद्ध र द्वन्द्वको आगोमा घिउ थप्न काम गरेको पनि बैठकले निश्कर्ष निकालेको छ । तसर्थ विश्व प्रेस काउन्सिलले गैरजिम्मेवार तरिकाले प्रभाव जमाउँदै आएको डिजिटल मिडियाका नकारात्मक प्रभावहरूलाई कम गर्ने र निकट भविष्यमा यसको रोकथामको निम्ति आवश्यक सुझाव प्रदान गर्ने तरिका पत्ता लगाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

बैठकमा सहभागी सदस्यहरू अनलाइन मिडियाको विकास गर्नुपर्ने विश्वको आवश्यकतामा सहमत हुँदै यसको निम्ति आवश्यक नियमन र दिशानिर्देशको सर्वमान्य मान्यताको विकास गर्ने र विश्वभरिका अनलाइन मिडियाको आचरणलाई मार्गदर्शन गर्न र त्यसपछि सदस्य मुलुकमा त्यसलाई लागू गर्ने मार्गमा विश्व प्रेस काउन्सिलले पहल लिनेमा एकमत देखिएका हुन् ।

बैठकमा विश्व प्रेस काउन्सिलका महासचिव तथा नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष किशोर श्रेष्ठले भाग लिनुभएको हो । नेपालका तर्फबाट प्रेस काउन्सिल नेपालका अध्क्ष बालकृष्ण बस्नेत र सदस्य ठाकुर बेलबासे पनि नैरोबीमा आयोजित विश्व प्रेस काउन्सिल र केन्या मिडिया काउन्सिलका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।

टिप्पणीहरू