‘राम्रो हुने ठानेर सुन्दरी चोकमा युरोपेली युनियनलाई ककटेल डिनर गर्न दिएका हौं’
संग्रहालय र दरबार क्षेत्रको कार्यविधिनुसार नै पाटन दरबार क्षेत्रको सुन्दरी चोकमा युरोपेली युनियनलाई ककटेल डिनर आयोजना गर्न दिइएको पाटन दरबार संग्रहालयले स्पष्टीकरण दिएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार संग्राहलयमा आज साँझ युरोपेली युनियनले डिनर कार्यक्रम राखेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदास्थलमा ककटेल डिनर कार्यक्रमको बारे सोधिएको जिज्ञासामा पाटन संग्रहालयका सूचना अधिकारी सुरेशमान लाखेले भने, ’हाम्रो कार्यविधिनुसार नै उक्त कार्यक्रम गर्न स्थान उपलब्ध गराउन लागेका हौँ । यस विषयमा हामीले कसैको अनुमति लिन आवश्यक पर्दैन । हाम्रो कार्यविधिमा पहिले नै समावेश गरिएको छ । सोही कर्यविधिनुसार नै डिनरको लागि ठाउँ उपलब्ध गराएका हौँ ।’
उनले अगाडि भने, ‘कार्यविधिमा संग्रहालयको लागि राम्रो हुने लागेमा स्थान उपलब्ध गराउने भनिएको छ । हामीले युरोपेली युनियनलाई उक्त स्थान दिँदा राम्रो हुने सोचेर दिएका हौं ।’
उनकानुसार आज युनियनले ललितपुरको भण्डारखाल बगैंचा र सुन्दरी चोकमा युरोप डेको उपलक्षमा डिनर कार्यक्रम राखेको छ । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन रहनुहुने छ । कार्यक्रम साँझ ५ बजेदेखि ९ बजेसम्म हुने उनले बताए ।
टिप्पणीहरू