गठबन्धनका शीर्ष नेतालाई बाँदरको संज्ञा दिँदै एमाले अध्यक्षले भन्नुभयो ‘चुनावमा ५ वटा बाँदर छन्, मतपेटिका खोस्न सक्छन्’

गठबन्धनका शीर्ष नेतालाई बाँदरको संज्ञा दिँदै एमाले अध्यक्षले भन्नुभयो ‘चुनावमा ५ वटा बाँदर छन्, मतपेटिका खोस्न सक्छन्’

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनका नेता र तिनका नेता तथा कार्यकर्तालाई पशुपतिनाथको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आशंका गर्नुभएको छ ।

आज पोखरामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले मतपेटिका लुट्न सक्ने आरोप लगाउनु भएको हो ।

‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोसेर लान सक्छ,’ उहाँले भन्नुभयो ‘त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ (चुनावमा) पाँचवटा छन् । हामी सतर्क हुन जरुरी छ । धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन ।’

यस्तै गठबन्धनले चुनावमा धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि उहाँले कार्यकर्तालाई सुझाउनु भयो ।

‘पाँचदलीय गबठन्धन भोटले जित्ने होइन । भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने र निल्ने गर्छन् । के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन् । गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ । एमालेलाई पार्टी मात्रै होइन लोकतन्त्र जित्ने कुरामा छौं । हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौं । कसैले शान्ति सुव्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन ।’

अध्यक्ष ओलीले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाउँदै प्रहरीबाट एमालेलाई सहयोग नचाहिने उल्लेख समेत गर्नुभयो । ‘एमालेलाई प्रशासन र प्रहरीको सहयोग चाहिँदैन । मतदाताबाट सहयोग छ,’ ओलीले भन्नुभयो, ‘तपाईंका सहयोग एमालेलाई चाहिँदैन, तटस्थ निर्वाचन गराउनुस् ।’

त्यसैगरी उहाँले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गर्नुभयो । ‘परमादेशबाट आएको गठबन्धन हो । कसले फालेको हो थाहा छैन । यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन,’ उहाले भन्नुभयो ।

टिप्पणीहरू