दुध तथा दुग्धजन्य पदार्थ अत्यावश्यक वस्तुको सूचीमा अटाएनन्
दुध तथा दुग्धजन्य पदार्थको ढुवानीलाई अत्यावश्यक वस्तुको सूचीमा नराखेपछि नेपाल डेरी एसोसिएसनले निर्वाचन आयोगलाई पत्र लेखेको छ । निर्वाचनका दिन चल्न पाउने सवारीको सूचीमा नअटाएपछि एसोसिएसनले पत्र लेखेको हो ।
दुध अत्यावश्यक वस्तु भएको र यो बालकदेखि वृद्धवृद्धासम्मका लागि दैनिक अनिवार्य रहेकाले यसको ढुवानीमा रोकतोक गर्न नहुने एसोसिएसनको भनाइ छ ।
‘विगतका दिनमा देशमा बन्द, हड्ताल, महामारी एवम् निर्वाचनको समयमा बिना रोकतोक ढुवानी गर्न पाइन्थ्यो,’ आयोगलाई लेखिएको पत्रमा भनिएको छ । तर, वैशाख ३० गते निर्वाचनको दिनमा दुध ढुवानीलाई अत्यावश्यक वस्तुको सूचीबाट हटाइएको छ ।
एसोसिएसनले ढुवानीमा सहजीकरण गरिदिन आग्रहसमेत गरेको छ । आयोगले निर्वाचनको दिनमा खाद्यान्न, एम्बुलेन्स, पिउने पानी, दूतावासका सवारी साधन बिना रोकतोक चल्न पाउने व्यवस्था गरेको छ ।
तर, यीबाहेक अन्य वस्तु ढुवानी र सवारी साधन चल्न पासको व्यवस्था अनिवार्य गरिएको छ । यो सूचीमा दुध तथा दुग्धजन्य वस्तुको ढुवानी समेतलाई समेट्न एसोसिएसनले आग्रह गरेको हो ।
टिप्पणीहरू