चितवनमा व्यापक खानतलासी, म्यादी मात्रै १७ सय परिचालित

चितवनमा व्यापक खानतलासी, म्यादी मात्रै १७ सय परिचालित

चुनावको मुखमा गत आइतबार चितवनमा एकजना काँग्रेस कार्यकर्ताको हत्या भयो । तर चुनावको सन्दर्भमा भयभीत हुनुपर्ने अवस्था नरहेको जिल्लाका सुरक्षा तथा अनुसन्धान अधिकारीहरुले बताएका छन् । उनीहरु भन्छन्, ‘यो घटना चुनावी प्रतिस्पर्धा वा राजनीतिक द्वन्द्वका कारणले भएको होइन, व्यक्तिगत रिसइबी यसमा देखिन्छ ।’

सिआईबीका विज्ञसहित प्रदेश प्रहरी र जिल्ला प्रहरीको टोलीबाट घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘प्रारम्भिक रुपमा मुख्य हत्यारा पहिचान भइसक्यो । विशुद्ध आपराधिक घटना हो यो । कारण राजनीतिक छैन । यसले निर्वाचनमा कुनै असर पर्दैन । निर्वाचनलाई भयरहित वातावरणमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई व्यापक रुपमा परिचालन गरिएको छ ।’ रक्सीका कारण हुलदंगा हुनसक्ने हुँदा चुनावलाई लक्षित गरी प्रहरी–प्रशासनले मदिराको बिक्रीवितरण र सेवनलाई पनि नियन्त्रण गर्दैछ ।

राष्ट्रिय अनुसन्धान विभागको जिल्ला कार्यालय चितवनका प्रमुख एसपी शेरजंगबहादुर चन्दले पनि चितवनमा शान्तिपूर्ण वातावरणमा नै निर्वाचन सम्पन्न हुने स्थिति रहेको बताए । ‘अनिल परियारको हत्या गैरराजनीतिक नै हो’, उनले भने, ‘मृतक विभिन्न मुद्दामा तीनपटक जेल परिसकेका रहेछन् । पछिल्लो पटक ज्यान मार्ने उद्योग मुद्दामा एक–डेढ वर्ष जेल बसेर केही महिना अगाडिमात्र उनी छुटेका थिए ।’ अहिले निर्वाचनको व्यवस्थापनलाई नै ध्यान दिएर आफूहरुले काम गरिरहेको, ठाउँ–ठाउँमा एजेण्ट तथा चार दर्जनभन्दा बढी कर्मचारी अनुसन्धानमा खटाइएको बताउँदै उनले भने, ‘संविधानविरोधी तत्वहरुको एकदम निगरानी भइरा’छ । निर्वाचनमा खतराको सम्भावना अत्यन्त न्यून छ ।’आइतबार साँझ भरतपुर–७ कृष्णपुरमा हत्या गरिएका भरतपुर–१२ का अनिल परियार नेपाली काँग्रेस बागमती प्रदेश प्रतिनिधि हुन् । कुटपिटको सूचनापछि प्रहरी पुग्दा धारिलो हतियार प्रहारबाट सख्त घाइते हालतमा उनी फेला परेका थिए । उपचारको लागि तत्काल चितवन मेडिकल कलेज पुर्याइएपनि उनको ज्यान बच्न सकेन । ‘हात, खुट्टा, छाती, टाउकोमा छुरा जस्तो धारिलो हतियार प्रहार भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले भने, ‘घटनास्थलमा गोलीको खोका पनि भेटिएको छ ।’

शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ । आज मंगलबार बिहानसम्म पोष्टमार्टम रिपोर्ट आइनसकेको डीएसपी अधिकारीले बताए । मृतकका आफन्त तथा साथीभाइले सोमबार बिहान सिएमसी अगाडि म्याजिक गाडीमा तोडफोड गरे पनि प्रहरीले केहीबेरमै स्थितिलाई सामान्य बनाएको थियो । ‘निर्वाचनमा भय, त्रास मान्नुपर्दैन । यो हत्याको घटना राजनीतिसँग जोडिएको छैन । चिनेजानेकै साथीबाट उनको हत्या भएको देखिएको छ ।’ केही दिनअघि बालकुमारी नर्सिङ कलेज र खैरहनीमा भएको कुटपिट र झैझगडा पनि चुनाव र राजनीतिसँग जोडिएको घटना नभएको प्रस्ट्याउँदै उनले अहिलेसम्म चुनावलक्षित राजनीतिक हिंसा चितवनमा नभएको बताए । यहाँ चुनाव शान्तिपूर्ण वातावरणमा नै सम्पन्न हुने भन्दै ढुक्कसँग निर्वाचनमा सहभागी हुन, कुनै डर नमान्न सबैमा उनको आग्रह छ ।

निर्वाचनलाई भयरहित तथा शान्तिपूर्ण बनाउन संयुक्त सुरक्षा योजनाअनुसार विशेष ढंगबाट प्रहरी परिचालन गरिएको छ । मोबाइल गस्ती, पैदल गस्ती, पिकेटलगायत सादा पोशाकमा समेत व्यापक रुपमा प्रहरीहरु खटिएका छन् । चेकजाँच बढाइएको छ । शंकास्पद व्यक्ति तथा सवारी साधनहरुलाई ठाउँ–ठाउँमा रोकेर उनीहरुको डिक्की र झोलाहरुको खानतलासी गर्ने कामलाई प्रहरीले तीव्रता दिएको छ । निर्वाचनमा प्रहरीलाई सघाउन चितवनमा झण्डै १७ सय म्यादी प्रहरी भर्ना गरेर सँगसँगै परिचालन गरिएको छ ।

– अजय गोर्खाली

टिप्पणीहरू